१७ पुष २०७२, शुक्रबार

काठमाडौँ,  । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने रु. १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

earthquick

सरकारले घोषणा गरेको सो रकम वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला सरकारले शुक्रबार गृह र स्थानीय विकास मन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा निर्देशन दिएको हो ।

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले गत साताको आफ्नो चीन भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको पत्रकारलाई बताउनुभयो ।

संविधान जारीपछि चीनमा सो स्तरको पहिलो भ्रमणबाट व्यापार तथा पारबहन, दीर्घकालीन इन्धन, पूर्वाधार विकास तथा कनेक्टिभिटी र तातोपानी र केरुङ नाका सञ्चालन गर्न समझदारी भएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले उल्लेख गर्नुभयो ।

बैठकले लगानी बोर्डको प्रस्तावमा चीनको ‘द गोर्खाज युके’ कम्पनीको परियोजना प्रस्ताव अनुसार ऊर्जा उत्पादनको समझदारी स्वीकृत गरेको छ भने बोर्डलाई हावाबाट बिजुली निकाल्ने परियोजना प्रस्ताव तयार गर्न निर्देशन पनि दिएको छ ।

बैठकले बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।

यसैगरी दैवी तथा विषाक्त हतियारसम्बन्धी महासन्धिको अनुमोदनका लागि व्यवस्थापिका– संसद्मा पेस गर्ने, चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको कार्यावधि चार महिना थप्ने निर्णय गरेको छ ।

विदेशी सम्बन्धनका शिक्षण संस्थालाई व्यवस्थित गरिने

बैठकले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थालाई स्पष्ट र प्रभावकारी बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ भने भारतीय केन्द्रीय शिक्षा बोर्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाका सम्बन्धमा स्पष्ट पार्न मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाइएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

साथै राजपत्र अनङ्कित (प्रशासन) तर्फका कर्मचारीको सरुवाका लागि क्षेत्रमा क्षेत्रीय प्रशासक र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी पनि दिइएको छ ।

बैठकले केही सह–सचिवको सरुवा पनि गरेको छ । रासस

 

LIVE TV