
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको प्रगति सन्तोषजनक नदेखिएकाले थप क्रियाशीलताका साथ काम गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले आयोजना कार्यान्वयन गरिरहेका सम्बन्धित मन्त्रालयले थप क्रियाशीलताका साथ काम गर्न आवश्यक रहेको पनि बताउनुभयो । राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको ३५ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै विकासका काममा ढिलासुस्ती गर्नेमाथि मात्र कारबाही नगरी काम नगर्नेमाथि पनि कारबाही गरिने दृढता व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवका २१ वटासहित चालु आव २०७२÷७३ मा ४६८ आयोजना सञ्चालनमा रहेका छन् । भूकम्प, इन्धनको अभाव, निर्माण सामग्रीको अभाव, मुआब्जा वितरणलगायतका करणले आयोजनाहरूको प्रगति सन्तोषजनक नदेखिएको हो । वैठकमा उपप्रधानमन्त्री सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले ४९१ जना गाविसका सचिवको दरबन्दी खाली रहेको हुँदा तत्काल सो पदपूर्ति गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न र यसमा आइपर्ने समस्या समाधान गर्न कार्यदल गठन गर्न सुझाव दिनुभयो । अर्थमन्त्री विष्णु पौडेलले नाकाबन्दीले राजस्व सङ्कलन, आयात–निर्यात तथा समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको बताउनुभयो । उहाँले राष्ट्रिय गौरव आयोजना तथा विकास आयोजनाका लागि बजेटको अभाव हुन नदिने जानकारी पनि वैठकलाई गराउनु भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले १३औँ योजनाको लक्ष्यअनुसार सडक निर्माण, पुल निर्माण, पूर्व–पश्चिम रेल मार्गको विस्तृत परियोजना प्रतिवेदन तयार नभएको, विद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी सेवा, खुला दिसामुक्त क्षेत्र घोषणा, साक्षरता दर, प्रौढ शिक्षा, पर्यटक आगमन, कृषि उत्पादन हुन नसकेको जानकारी दिनुभयो । भूकम्प, इन्धन अभावजस्ता कारणले चालु आवमा आर्थिक वृद्धि दर दुई प्रतिशतमा खुम्चिने उपाध्यक्ष डा खतिवडाको भनाइ थियो ।