
सन् २०१५ मा विश्वको राजनीति, अर्थतन्त्र र सुरक्षाको दृष्टिकोणवाट त्यति सुखद रहेन् । आतंकवादले आफ्ना पखेटा तीव्र गतिमा उचाल्दा अकल्पनीय मानवीय तथा भौतिक क्षति हुन पुग्यो भने मध्ये एसियाले चरम मानवीय सकंट व्यर्होन पुग्यो । विश्वका शक्ति राष्ट्रहरुको टकराव झनै बढ्यो । जसले गर्दा विश्वको शक्ति सन्तुलन थप असन्तुलन बन्न पुग्यो । तर पनि विश्वको समग्र अर्थतन्त्रमा भने केही सुधारका संकेतहरु प्नि देखिए । सन् २०१५ जनवरी ७ मा फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु हुन पुग्यो । जसले सारा विश्वलाई नै स्तव्ध बनायो ।
फेब्रुअरी १२, मा युक्रेनका पृथकतावादी विद्रोही र सरकारबीच फ्रान्स जर्मनी र रुसद्वारा समर्थित मिन्स्क द्वितीय शान्ति मार्गचित्रमा हस्ताक्षर भयो । तर यो सम्झौता धेरै समय टिकेन । पुनः १सेप्टेम्बरमा अर्को सम्झौता भएता द्धन्द्ध अझै जारी छ । मार्च१८, मा ट्युनिसियाको राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटकहरु र एक जना ट्युनिसियाली प्रहरीको मृत्यु भयो । त्यसको लगभग डेढ महिनापछि जुन २६ मा ट््युनिसिया कै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु भयो । आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लियो ।
यसै महिनाको २४ तारिखमा सस्तो दरमा हवाई सेवा उपलब्ध गराउने जर्मनीको बजेट एयरलाइन्स जर्मन विङ्ग्सको एउटा एयरबस फ्रान्सेली पर्वतमाला फ्रेन्स आल्प्समा ठोक्किँदा विमानमा सवार यात्रु १५० सबैको मृत्यु भयो । दुर्घटना अनुसन्धानकर्ताका अनुसार सहचालक एडियास लुबिजको लहडबाजीले जानाजानी उक्त विमान दुर्घटनाग्रस्त बनाएको ठहर गरियो ।
यसै गरी अप्रिल २ तारिखमा सोमालियाका अल सबाब इस्लामिक विद्रोही लडाकू केन्या पुगी गारिसा विश्वविद्यालयमा आक्रमण गर्दा अधिकांश विद्यार्थीसहित कम्तीमा १७८ जनाको नरसंहार भयो । विश्व समुदाय घटनावाट स्तव्ध हुन पुग्यो । अप्रिल २५ मा नेपालको मध्य उत्तरी पहाडी भूभागलाई केन्द्रविन्दू बनाएर गएको ७.६ रिक्टर स्केलको गोरखा भूकम्पले करिब ८ हजार ९०० को ज्यान लिनुका साथै लगभग पाँच लाख घर आंशिक पूर्णरुपमा क्षतिग्रस्त भयो । यसको करिब दुई हप्तापछि मे १२ का दिन ६.९रेक्टर स्केलको परकम्पबाट थप केही दर्जनको मृत्यु भयो ।
जुनः १ मा मध्य चीन भएर बग्ने एक ठूलो नदी याङत्सेमा एउटा चिनियाँ यात्रुवाहक जहाज पल्टिँदा त्यसमा यात्रा गरिरहेका ४५४ मध्ये ४४२ जनाको मृत्यु भयो । अमेरिकी सर्बोच्च अदालतले जुन २६ मा सबै राज्यहरुमा समलिङ्गी विवाहलाई अधिकार प्रदान गर्ने फैसला गर्यो ।
जुलाई १, मा शीत युद्धताका आपसमा शत्रुवत व्यवहार गर्ने अमेरिका र क्युबाबीच ५४ वर्षपछि पुनः दौत्य सम्बन्ध कायम गर्दै ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर भयो ।
जुलाई १४ तारिखका दिन इरान र पश्चिमेली ठूला शक्ति राष्ट्रबीच १८ दिनसम्म चलेको छलफलमा इरानले कुनै पनि आणविक निर्माण वा खरिद नगर्ने भन्ने प्रतिबद्धता व्यक्त गर्यो ।
अगस्ट १२ मा चीनको तियानजिन महानगरमा अवस्थित एउटा रासायनिक पदार्थ भण्डारण केन्द्रमा भीषण विस्फोट हुँदा कम्तीमा १६५ को मृत्यु भयो ।
सेप्टेम्बर १८मा ठूलो परिमाणमा गाडी उत्पादन गर्ने जर्मनी कम्पनी भक्स वागन कम्पनीलाई अमेरिकी प्रदूषणस्तर निरीक्षणलाई झुक्याई ठगी गरिरहेको भन्ने आरोपमा मुद्दा लगाइयो । यसबाट अमेरिका मै ठूलो काण्ड मच्चियो । २४ सेप्टेम्वरमामुस्लिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का नजिक रहेको सीमामा हज तीर्थयात्रीहरुबीच भागदौड चल्दा दुई हजार २३६ को मृत्यु भयो ।
अक्टोबर २९ मा लामो समय देखिको अन्योलका माझ चीनले एक सन्तान नीति खारेज गर्यो । अक्टोवर ३१ मा इजिप्टको सार्म–एल–शेख रिसोर्टबाट रुसको सेन्ट पिटर्सबर्गतर्फ उडेको एउटा रुसी यात्रु वाहक जेट विमानलाई आक्रमण गर्दा विमानमा सवार २२४ सबैको मृत्यु भयो ।इस्लामिक स्टेटद्वारा आक्रमणको जिम्मेवारी लिईयो ।
नोभेम्बर महिनाको पहिलो सातामा सन् १९४९ मा चीनबाट ताइवान फुटेर गएपछि चीन र ताइवानका राष्ट्रपतिहरुबीच पहिलो पटक ऐतिहासिक भेटवार्ता भयो । यस्तै गरी नोभेम्वर ८ मा म्यानमारमा सैनिक शासनको दशकौँ पछि प्रजातान्त्रिक नेत्री आङ सान सुकीको पार्टी अत्यधिक मतद्वारा आम निर्वाचनमा विजयी भयो । प्रजातन्त्रको विजय भएको भन्दै विश्व समुदायाको मत परिणामलाई न्यायो स्वागत ग¥यो ।
यसै गरी नोभेम्वर १३ मा फ्रान्सको राष्ट्रिय सङ्गशाला, नाट्यशाला, बार रेस्टुरेन्टलगायत विभिन्न सात स्थानमा आत्मघाती जिहादी समूहले गरेको गोली र बम आक्रमणमा १३० को मृत्यु हुनुका साथै सयौँ घाइते भए । २० नोभेम्वर मा मालीको राजधानी बामाकोमा अवस्थित एउटा लक्जरी होटललाई घेरा हाली अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २०० को मृत्यु भयो ।अल कायदा सम्बन्धी एक विद्रोही समूहले आक्रमणको दाबी गर्यो ।
यसै गरी नोभेम्वर २४ तारिखका दिन टर्कीले एउटा रसियाली युद्धक विमानलाई सिरियाको सीमानजिक गोली हानी खसाली दियो । आफ्नो भूभागमाथि उडाएको र हवाई नियम उल्लङ्घन गरेको टर्कीले आरोप लगायो । टर्की र रुस सम्बन्ध नराम्ररी चिस्सिन पुग्यो ।
डिसेम्बर २ मा अमेरिकाको क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा मानसिक सन्तुलन गुमाएका एक दम्पतीले अन्धाधुन्ध गोली प्रहार गर्दा १४ निर्दोषको मृत्यु भयो । प्रहरीको गोली प्रहारवाट आक्रमणकारीको पनि मृत्यु भयो । यस्तै गरी डिसेम्वर १२ मा विश्वव्यापी तापमान वृद्धि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै १९५ राष्ट्रका प्रतिनिधिद्वारा पेरिसमा ऐतिहासिक सम्झौतामा हस्ताक्षर भयो ।
साउदी अरेबियामा डिसेम्वर १२ मा मुलुकको नगर परिषदको निर्वाचनमा कम्तीमा २० जना महिला नेत्री विजयी भए । महिलामाथि विभिन्न खाले प्रतिबन्ध लागिरहेको यस मुलुकमा महिला नेत्री विजयी हुनु एक ऐतिहासिक परिवर्तन भएको टिप्पणी गरियो ।
डिसेम्वर २१ मा फुटबल खेलको अन्तर्राष्ट्रिय सङ्गठन फिफाका अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष माइकल प्लाटिनीलाई आठ वर्षसम्म प्रतिबन्ध र दुबैजनालाई ठूलो रकम भ्रष्टाचारको आरोप लगाईयो । सन् २०१५ लाई समग्रमा नियाल्दा विश्व परिवेशमा नकारात्मक घटनाक्रमहरु ज्यादा भए ।विश्वमा शक्ति राष्ट्रहरुको धुव्रिकरणले गर्दा पनि विश्व असन्तुलित हुन पुग्यो । यसले पनि के देखाउछ भने विश्वले भोगिरहेको कुनै पनि चुनौतीको सामना गर्न शक्ति राष्ट्रहरु मिल्नुको विकल्प छैन् । आशा गरौं, नया बर्षमा विश्व शान्ति र स्थिरताको लागि विश्व समुदाय एकजुट हुनेछ् ।