
नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री तथा प्रजातन्त्रकालागि कठिन राजनीतिक संर्घष गर्नु भएका विपी कोईरालाले प्रादुर्भाव गर्नु भएको राजनीतिक मेलमिलापको सान्दर्भिकता अझै पनि उत्तिकै बलियो बन्दै गएको धेरैको अनुभव छ । राजनीतिक धु्रविकरण चरम रुपमा चुलिएको वर्तमान अवस्थामा विपीको मेलमिलापको नीति झनै व्यावहारिक र द्धन्द्ध समाधान गर्ने सुत्र बन्न सक्ने चर्चा गर्न थालिएको छ । वि.स. २०३३ साल पुस १६ गते आजैका दिन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष विपी कोईराला आफू माथि तत्कालीन पञ्चायती शासनले लगाएको सातवटा मुद्दाहरुलाई वेवास्ता गर्दै राष्ट्रियताको सन्दर्भमा मुलुकका सम्पूर्ण शक्तिहरु एकजुट हुनुपर्छ भन्दै भारतवाट स्वदेश फर्किनुभयो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वतन्त्र राज्य सिक्किमलाई भारतमा गाभिसकेर अन्य छिमेकी मुलुकहरुप्रति पनि गिद्धे दृष्टि राख्न थालेको सुइँको पाउँने वित्तिकै विपी स्वदेश फर्किनुभएको थियो । विपीको त्यो मेलमिलाप नीति राष्ट्रियता, एकता, प्रजातन्त्र र मुलुकको सबल सार्वभौमिकताको लागि थियो । राजा, राजनीतिक दलहरु र सर्वसाधारण नागरिक एकतावद्ध नहुँदा सम्म राष्ट्रिता बलियो हुन नसक्ने ठम्याई विपीले गर्नुभएको थियो । अहिले देखिएको राजनीतिक अस्थिरता, राजनीतिक शक्तिहरु बीचको अनावश्यक टकराव र अवाञ्छित वाह्य दवाव र प्रभाव विश्लेषण गर्दा विपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पुष्टि हुन्छ ।
माओवादी द्धन्द्धको शान्तिपूर्ण व्यवस्थपन भई पहिलो र दोस्रो संविधानसभाको निर्वाचन पश्चात नयाँ संविधान निर्माण भईसक्दा पनि मुलकमा द्धन्द्ध, अस्थिरता र अशान्ति हट्न सकेको छैन । बाह्य चलखेल इतिहासकै सवैभन्दा चरम र नाङ्गो रुपमा प्रकट भएको छ । घरेलु राजनीतिक शक्तिहरु राष्ट्रिय स्वार्थको मामिलामा एकजुट हुन नसक्दा जनताले चरम सास्ती व्यहोर्न परिरहेको छ । जनता दलहरुका क्रियाकलापवाट निराश र आक्रोशित बनेका छन् । यो अवस्थामा नेपालको राजनीतिलाई सुक्ष्म ढङ्गवाट नियालिरहेका टिप्पणीकारहरु विपीको मेलमिलाप नीति पुनः जरुरी भएको र सामयिक रुपमा उक्त नीतिको प्रयोग गर्न सवै दलहरु उदार हुनुपर्ने सुझाव दिन्छन् । अहिलेको अस्तव्यस्त राजनीतिक घटनाक्रमको एकमात्र निकास संसद र संसद वाहिरका शक्तिहरु राष्ट्रियता, लोकतन्त्र र एकताको लागि एक ठाउँमा उभिई मेलमिलाप कायम गर्दै राष्ट्रिय सहमति पहिल्याउनु नै हो । यो वाहेक अहिलेको द्धन्द्ध समाधानको अन्य उपाय नेपाली राजनीतिमा नभएको जानकारहरु बताउँछन् । त्यसैले आशा गरौं, समय र परिस्थितिको गाम्भीर्यतालाई मनन गर्दै सवै राजनीतिक दलहरुले विपीको मेलमिलाप नीतिलाई गम्भीर ढङ्गवाट आत्मसाथ गर्नेछन् ।