
के तपाईँ गर्भवती हुनुहुन्छ ? यदि हुनुहुन्छ भने खेतीपातीमा विषादी प्रयोग गरेको स्थानभन्दा झन्डै ६० मिटर टाढै रहनुहोला ।
खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । सो विषले गर्भमा रहेको बच्चा र आमाको शरीरमा गम्भीरअसर पुग्ने हुँदा असरबाट जोगिन डा भूषण श्रेष्ठले गर्भवती, तरुणी तथा बालबालिकालाई टाढै रहन सुझाएका छन् ।
रासायनिक विषादीको प्रयोगका कारण गर्भवती, तरुणी र बालबालिकामा पहिलो प्रभाव देखिन्छ । “गर्भवती महिलाको पेटमा रहेको बच्चा अपाङ्ग र नपुंसक जन्मनु तरुणी महिलाको पाठेघर सुक्न गई बाँझोपन देखिनु र जन्मिसकेका बालबालिकापछि सुस्त मनस्थितिको हुनु विषादीको प्रमुख असर हो”–चिकित्सक गेहेन्द्र वैद्यले भन्नुभयो ।
त्यतिमात्र नभई विश्व स्वास्थ्य सङ्गठनकाअनुसार झन्डै ३१ प्रतिशत आत्महत्याको कारण विषादी नै भएको उल्लेख छ । विषादीले मानिसमा मूर्छा पर्ने, झाडापखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्युसम्म ल्याउँछ भने लामो समयपछि देखिने असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अङ्गमा असर, नशासम्बन्धी समस्या ल्याउने गर्दछ ।
संयुक्त राष्ट्र सङ्घले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको उल्लेख गरेको छ । उसले भनेको छ, “विकासोन्मुख देशमा मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीको प्रयोग बढेकाले ती देशमा सबैभन्दा धेरै महिला तथा बालबालिका पीडित बनेका छन् ।” प्रयोग भएकामध्ये ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको संयुक्त राष्ट्र सङ्घले उल्लेख गरेको छ ।
विषादीले मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत विभिन्न समस्या जन्माएको छ । मौरीको सङ्ख्यामा कमी ल्याउन खेतबारीमा प्रयोग गरिएका विषादी प्रमुख कारक रहेको प्रमाणित भइसकेको छ । बाली विरुवामा हुने पराग सेचन प्रक्रियामा नै कमी आउने र कृषि उत्पादनमा ह्रास आएको तथा विषादीको अवशेष माटो तथा पानीमा बढेर गएको, ओजन तहको विनासमा विषादीको भार करिब छ प्रतिशत नाघेको तथ्याङ्कमा उल्लेख छ ।
संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान छ । विश्वमा विषादीकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्युहुने गरेको बाली संरक्षण निर्देशनालयका निर्देशक डा डिल्लीराम शर्माले बताउनुभयो । नेपालले विषादी आयातको लागि गत वर्ष रु ५७ करोड खर्च गरेको छ भने अधिकांश विषादी भारत र चीनबाट आयात हुँदै आएको छ ।
दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको विविधिकरण, व्यवसायीकरण र औद्योगिकीकरणका नाममा कृषक सशक्तीकरणको भूमिका भए पनि सरकारले विषादीको प्रयोगमा कमी र छुटकारा दिने कार्यमा खासै योगदान नदिएको वातावरणविद्को भनाइ छ । वातारणसम्बन्धी जानकार रामकृष्ण ढकालका अनुसार विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव विषादीको सुरक्षित ओसारपसार तथा प्रयोग र विषादीका विकल्पका प्रविधिसम्बन्धी ज्ञान कृषकका लागि जरुरी छ ।
नेपालमा ४१० टन विषादी आयात भएको तथ्याङ्क छ । कीटनाशक १३८ टन, रोगनाशक १६४ टन, झारनासक १०१ टन, र अन्य सात टन रहेको छ । सन् १९५२ मा नेपालमा मलेरिया नियन्त्रण गर्न विषादी भित्र्याइएको तथ्याङ्क छ । करिब एक हजार ४०० किसिमका विषादी पञ्जीकृत गरिएको भए पनि १६ थरी क्रमशः क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई नेपालमा निषेध गरिएको छ । रासस