
विरामीको उपचारमा रात दिन खट्नुपर्ने स्वास्थ्यकर्मीहरु आफैं संक्रमणको उच्च जोखिममा पर्ने गरेका छन् । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरल रुघाखोकी जस्ता स्वास्थ्य समस्याहरुको परीक्षणको क्रममा ल्याबका स्वास्थ्यकर्मीहरु नै संक्रमणको शिकार बन्ने गरेका छन् ।
बिरामीको रगत ,खकार ,पिसाबको ल्याब टेस्ट गर्न बसेका स्वास्थ्यकर्मीहरु र ल्याब टेक्निसियनहरु आफै संक्रमणको जोखिममा परेर बिरामी पर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.गीता शाक्यका अनुसार गत बर्ष स्वाइनफ्लुको संक्रमित विरामीको स्वास्थ्य परीक्षणका क्रममा प्रयोगशालाका एक स्वास्थ्यकर्मीलाई संक्रमण भएको थियो ।
विशेष गरी प्रयोगशालामा कार्यरत स्वस्थ्यकर्मीहरु यस्ता बिभिन्न संक्रमणको जोखिममा पर्दै आएका छन् । विदेशी मुलुकहरुमा ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई बिशेष मध्यनजर गरेर ल्याबको डिजाइन र स्वास्थ्यकर्मीको सुरक्षाको हिसाबले निकै व्यवस्थित ल्याबको व्यवस्था गरिएको हुन्छ । तर नेपालका ल्याबहरु भने कतिसम्म असुरक्षित छन् भने स्वास्थ्यकर्मीहरु आफैं संक्रमणको जोखिम मोल्न बाध्य छन् । अहिले जाडोको मौसम बढेसँगै इन्पÞmुल्युएन्जाको संक्रमणका बिरामी बढेका छन् । यस्तो बेला ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु अझ जोखिममा रहेकोले उनीहरु आफैले सावधानी अपनाउँन प्रयोगशालाकी निर्देशक शाक्यले सुझाव दिनुभयो ।
तर प्रयोगशालामा कार्यरत स्वस्थ्य्कर्मिहरुले भने बिशेष सचेतना अपनाउँदा अपनाउदै पनि कतिपय अवस्थामा बिभिन्न संक्रमणको शिकार बन्नुपरेको दुखेसो पोख्ने गरेका छन् । तर यस्तो अवस्थामा पनि जनस्वास्थ्य प्रयोगशालामा कार्यरत स्वस्थ्यकर्मीहरुको जोखिम न्यूनीकरण र संक्रमणमा परेका स्वास्थ्यकर्मीहरुको उपचारका लागि सरकारले ध्यान नदिएको पीडित स्वास्थ्यकर्मीहरुको गुनासो छ । अत्याधुनिक ल्याबको अभावमा जोखिम मोलेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको सुरक्षाका लागि कुनै ब्यबस्था सरकारले गर्न सकेको छैन भने संक्रमण बिरुद्धको भ्याक्सिनको समेत ब्यबस्था छैन । यसरी स्वास्थ्यकर्मीको स्वास्थ्यकै सुरक्षा गर्न नसक्ने सरकारको स्वास्थ्य नीतिले सरकार आफैंलाई गिज्याइरहेको छ ।