
लिसेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ । मंगलबार राति घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा शीर्ष उपाधि होडमा रहेको म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै लिसेस्टरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।लिसेस्टर तथा म्यानचेस्टर सिटी दुवैका खेलाडीले पोस्टमा प्रहार गरेका थिए । तर लिसेस्टरका गोरकिपर क्यासपर स्माइकगल र म्यानचेस्टरका गोलकिपर जोए हर्टले उत्कृष्ट बचाउ गरेपछि खेलमा गोल हुन सकेन । जित दुवै टिमका लागि महत्वपूर्ण थियो । लिसेस्टरले जितेको भए दुई अंकको अग्रतासहित शीर्ष स्थमानमा उक्लिने थियो । म्यानचेस्टर सिटीले जितेको भए लिसेस्टरसँग अंक बराबरी तथा शीर्ष स्थानको आर्सनलसँगको दूरी एकमा झर्ने थियो । १९ खेलबाट ३९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । समान १९ खेलबाट ३९ अंक नै जोडेको लिसेस्टर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ३६ अंक छ ।