
सरकारी अनुमतिमा भारतबाट भित्र्याएको इन्धन बिक्री गर्न सरकार नै बाधक बनेको छ।
सरकारको अनुमतिमा तत्कालको इन्धन अभाव टार्न विराट पेट्रोलियमले भारतबाट पाँच दिनअघि ल्याएको इन्धन राख्ने स्थान र बिक्रीवितरण गर्ने प्रणाली पाएको छैन। सरकारले इन्धन राख्न स्थान र बिक्री गर्ने प्रणालीसम्बन्धी विकल्प उपलब्ध नगराउँदा विराटले ९४ हजार एक सय लिटर (९४.१ किलोलिटर) पेट्रोल जोखिमपूर्ण अवस्थामा सडक किनारमा राखिरहेको छ।
नेपालमा भएका सम्पूर्ण पेट्रोलपम्प नेपाल आयल निगमको आधिकारिक अधिकृत विक्रेता भएकाले ती पम्पले विराटले भित्र्याएको इन्धन बिक्री गर्न असहज छ। ठूलो परिमाणमा ल्याइएको उक्त इन्धन राख्ने स्थानको सम्बन्धमा सरकारले कुनै विकल्प उपलब्ध गराएको छैन।
पेट्रोल खन्याउने भाँडो र वितरण गर्ने पेट्रोलपम्प अभावमा उक्त इन्धन थन्किएको छ। सरकारले इन्धन ल्याउन अनुमति दिए पनि वितरण प्रणालीबारे कुनै सुविधा उपलब्ध नगराउँदा ल्याइएको इन्धन पनि उपभोक्ताले पाउन सकेका छैनन् भने कालोबजारी गर्ने इन्धन माफियाको चलखेल थप बढ्ने देखिएको छ।
आपूर्ति मन्त्रालयले निजी क्षेत्रको विराट पेट्रोलियमले भित्र्याएको इन्धनको व्यवस्थापन आफैं गर्नुपर्ने बताएको छ। इन्धन ल्याउने अनुमति दिएको सरकारले राख्ने र वितरण प्रणालीबारे उचित बाटो नखोलिदिँदा आपूर्तिकर्ता समस्यामा परेका छन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।