१५ पुष २०७२, बुधबार

काठमाडौं । नेपाली कांग्रेस आगामी १३औं महाधिवेशनपछि प्रदेशात्मक सांगठनिक संरचनामा जाने भएको छ । कांग्रेसको विधानमै अब प्रदेश समितिको अवधारणा आउन लागेको हो ।कांग्रेसमा विधान संशोधनका लागि प्रस्ताव गर्न बनेको विधान संशोधन समितिले प्रदेशात्मक संरचनामा जाने गरी गृहकार्य अघि बढाएको छ । प्रदेशको संख्याअनुसार कांग्रेसको नयाँ विधानमा प्रदेशात्मक समिति गठन हुने भएका छन् । प्रदेशात्मक समितिको गठन पनि चुनावबाटै हुनेछ

प्रदेशात्मक संरचनामा पार्टीलाई लैजाने गरी विधान संशोधनका लागि गृहकार्य र तयारी सुरु गरेका छौं,’ विधान संशोधन समितिका सदस्य–सचिव जीवन परियारले राजधानीसँग भने । १३औं महाधिवेशनपछि कांग्रेस प्रदेशात्मक संरचनामा जाने भए पनि १३औं महाधिवेशन भने अहिलेको संरचनाबाटै हुनेछ । १३औं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू वर्तमान संरचनाबाट निर्वाचित हुने भएका छन् ।

समितिलाई दिइएका सुझावमध्ये अधिकांश सुझाव पार्टीको केन्द्रीय सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा अन्य पदका लागि उमेरको हदबन्दी लागू गर्नुपर्नेछ । पार्टीका भ्रातृ संगठन नेविसंघ र तरुण दलले औपचारिक रूपमै उमेरको हदबन्दी लागू हुनुपर्ने सुझाव राखेका छन् । नेविसंघले पार्टीमा मात्र नभई नेविसंघ र तरुण दलमा पनि उमेरको हदबन्दी लागू हुनुपर्ने सुझाव दिएको छ । ‘नेविसंघले विधान संशोधन समितिमा पार्टीमा, नेविसंघ र तरुण दलमा सक्रिय राजनीति गर्नका लागि उमेरको हदबन्दी लागू हुनुपर्छ भनी सुझाव दिएको छ,’ नेविसंघका अध्यक्ष रञ्जित कर्णले बताएको राजधानीमा खबर छ ।

विधान संशोधन समितिलाई दिएको सुझावमध्ये उमेरको हदबन्दी ७५ वर्ष राखिनुपर्ने बढी छन् । केही–केहीले ७० वर्षसम्मको सुझाव दिएका छन् । ‘विधान संशोधन समितिमा पार्टीमा उमेरको हदबन्दी लागू हुनुपर्छ भन्ने सुझाव पनि आएका छन् । सबै सुझावको हामीले गम्भीर रूपले अध्ययन गरिरहेका छौं,’ सदस्य–सचिव परियारले भने ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV