
सरकारले केही समय अघि मात्रै घोषणा गरेको लमजुङस्थित राइनस नगरपालिकाबाट सहज रुपमासेवा नपाएको भन्दै नगरवासीहरुले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । कार्यालयमा कर्मचारीको अभाव हुनुको साथै नगरपालिकाको कार्यालय पनि टाढा भएका कारण सहज रुपमा सेवा नपाएको नगरबासीहरुको गुनासो छ । सरकारले आवश्यक पूर्वाधारको ख्यालै नगरी नगरपालिका घोषणा गरेको र समयमा पर्याप्त कर्मचारी राख्न नसक्दा नागरिकहरुले सास्ती खेप्नुपरेको छ । जिल्लाको तार्कुघाट, धमिलिकुवा, चक्रतिर्थ, भलायखर्क, प्यारजुङ, राइनस महोरियाकोट गरी ६ वटा गाविसलाई लक्षित गरी सरकारले राइनस नगरपालिका घोषणा गरेको हो । विगतमा गाविसबाट सेवा लिदै आएका नागरिकहरु नगरपालिका भएपछि ३ घण्टाको लामो पैदलयात्रा गर्दै सेवा लिन नगरपालिकाको कार्यालय तिनपिप्ले आउने गरेका छन् । अपायक ठाउँमा नगरपालिकाको कार्यालय राख्दा नगरबासीहरुले दुख पाएको उनीहरुको भनाई छ । उनीहरुले कुनैपनि गाविसका सडकहरु कालोपत्रे नभएको, सुविधासम्पन्न अस्पताल नभएको ठाउँमा पनि नगरपालिका घोषणा गरेकोप्रति असन्तुष्टि राखेका छन् । साविकका सबै गाविसहरुमा कच्ची सडक पुगेपनि केही स्थानमा भने ६ महिनामा मात्रै सवारीका साधनहरु चल्ने गर्दछन् । नगरपालिकाको कार्यालय तिनपिप्लेमा राख्दा तार्कुघाट, राइनस मोहोरियाकोट, प्यारजुङ लगायतका स्थानबाट नागरिकहरु तीन घण्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले नगरपालिका घोषणा गर्दा विकासका पूर्वाधारको ख्याल गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको नगरवासीको भनाई छ । लमजुङमा राइनस नगरपालिका सहित ४ वटा नगरपालिका रहेका छन् ।