
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस १९ गतेपछि नाकाको अवरोध हट्ने संकेत गर्नुभएको छ । रिपोर्टस क्लवको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ठाकुरले मोर्चाको आन्दोलन बारे भावी रणनीति तय गर्दा नाकाको अवरोध हटाउने विषयमा छलफल गरिने बताउनुभएको हो । तमलोपा अध्यक्ष ठाकुरले नाकामा गरिएको अवरोध हटाउने बारे अनौपचारिक छलफल भइरहेको जानकारी पनि दिनुभयो । उहाँले पुस १९ गतेपछिको कार्यक्रम तय गर्दा संभवतः नाकामा अवरोध नगर्ने सहमति हुने बताउनुभयो ।
तमलोपा अध्यक्ष ठाकुरले वार्ताबाट समस्या समाधान गर्न सरकारले चासो नदेखाएको आरोप लगाउनुभयो । उहाँले संसदमा पनि आवाज नसुनिएको र सडकमा पनि बस्न नदिएको बताउनुभयो । उहाँले मधेसी जनता र मधेसी मागप्रति सरकार गंभीर नबनेको आरोप पनि लगाउनुभयो । सरकार लचिलो भए आफुहरु पनि लचिलो हुने उहाँले बताउनुभयो ।