
नेपाली कांग्रेसको सदस्यता नविकरण र नयाँ परिचय पत्रको वितरणमा विवाद देखिएको छ । त्यसको विरोधमा तीन दिनदेखि पार्टी मूख्यालय सानेपामा रिले अनसन थालेका असन्तुष्ट केन्द्रीय सदस्यहरुले सदस्यता नविकरण र नयाँ परिचय पत्र वितरणमा भैरहेको मनोमानी तत्काल नरोकिए पार्टी कार्यलयमा आमरण अनसन गर्ने चेतावनी दिएका छन् । एकमात्र निर्वाचन क्षेत्र भएको सोलखुम्बु जिल्लाका असन्तुष्ट केन्द्रिय सदस्यहरुले पार्टीको हित विपरित केन्द्रिय समितिको बैठक नै नबसीकन केन्द्रीय प्रतिनिधिको रोहबरमा नभई व्यतिगत स्वार्थका आधरमा सदस्यता नविकरण गरिएको भन्दै अनसन थालेका हुन् । उनीहरुले व्यक्तिगत स्वार्थका आधारमा नयाँ परिचय पत्र वितरण गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । सोलुखुम्बु जिल्लामा सदस्य वितरण विभेदपूर्ण हुनुको साथै प्रतिशोधका आधारमा गरिएकोे पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले बताउनुभयो । उहाँले जिल्लामा आफनो पकड जमाउने उद्देश्यले जिल्ला सभापति र छानबिन समितिले विभेदपूर्ण तरिकाले सिफारिस गरी नजिकका व्यतिmलाई एकलौटी रुपमा सदस्यता वितरण गरिएको दाबी गर्नुभयो । नेता केसीले केन्द्रीय समितिबाट केन्द्रीय प्रतिनिधि खटाई निश्चित समयका आधारमा सदस्यता र नविकरण वितरणको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । अहिलेको सिफारिस तत्काल खारेज नभए आमरण अनसन बस्ने उहाँको चेतावनी छ । यसैगरी सदस्यता नवीकरण र नयाँ परिचयपत्रको वितरण सही ढंगले नभएको भन्दै रौतहट जिल्लाका सदस्यहरु पनि पार्टी कार्यालय अगाडि अनसनमा बसेका छन् ।