१४ पुष २०७२, मंगलवार


नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको एकता अपरिहार्य भएको बताएका छन्।

 

नेपाल प्रेस युनियन, कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान जारी गर्दासम्म एक जुट बनेका दल जारी पछिको समयमा एक बन्न नसकेकै कारण देशमा विद्यमान सङ्कट समाधान हुन नसकेको बताउँदै दलहरूबीचको १६ बुँदे सहमतिका आधारमा अहिले पनि अघि बढ्नुपर्नेमा जोड दिए।

 

देशको जारी समस्या एवम् मित्रराष्ट्र भारतसँगको चिसिएको सम्बन्धलाई सुदृढ बनाउन पनि नेपालका राजनीतिक दल एक ठाउँमा बस्नु अपरिहार्य भएको नेता खड्काको भनाइ छ।

 

वर्तमान सरकारले संविधानमा उल्लिखित २५ जनाको मन्त्रिमण्डल हुने कुरालाई तोडेर ४० पुर्‍याएको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि बनेको सरकारले संविधान मिचेर गलत काम गरेको आरोप लगाए।

 

नेपाली काँग्रेसको आसन्न महाधिवेशनले विद्यमान ६०÷४० को घेरालाई तोड्नुपर्ने औँल्याउँदै उहाँले समयानुकूल पार्टीमा नवजागरणको अभियान आवश्यक भएको बताए। रासस

 

LIVE TV