१४ पुष २०७२, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष साझा प्रकाशनका पदाधिकारी र सञ्चालकले संस्थालाई धराशायी हुनबाट बचाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थाको आर्थिक दुरवस्था र सुधारका लागि गरिएका पहल र भावी योजनाबारे अवगत गराए।

 

साझाका कर्मचारीले छ महिनादेखि काम र तलब नपाएको सुनेपछि प्रधानमन्त्री ओलीले सो विषयमा केही दिनभित्रै सरोकार भएका निकाय र व्यक्तिसहितको बैठक आयोजना गरी समस्या समाधान गरिने वचन दिए। उनले भने, ‘साझा प्रकाशन मुलुकको ऐतिहासिक संस्था हो तर मलाई यी सबै विषय थाहा थिएन, तपाईँहरू काम गर्न तयार हो भने म समस्या समाधान गर्छु ।’

भेटमा सञ्चालक समितिका सदस्य तथा पूर्वशिक्षामन्त्री प्रदीप नेपाल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झा, प्रा कृष्णहरि बराललगायत थिए।

विगतका पदाधिकारीबाट भएको अनियमितता, आपसी किचलोका साथै पाठ्यपुस्तक वितरणको काम खोसिएपछि संस्था ओरालो लागेको हो । आठ वर्षदेखि संस्थाको साधारणसभा हुन सकेको छैन । हाल शिक्षा मन्त्रालयको मातहत रहेको सो प्रकाशनले सरकारसँग संस्था बचाउन तत्काल रु २० करोड सरल ऋण माग्दै आएको छ ।  यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासमक्ष पनि संस्थाका पदाधिकारीले सोही आग्रह गरेका थिए । रासस

LIVE TV