
तनहुँ, सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकार विस्तार अहिलेको आवश्यकता र बाध्यता दुवै भएको बताउनुभएको छ । स्याङ्जाको कार्यक्रम सकेर राजधानी फर्कने क्रममा सोमबार राति दमौलीमा नेकपा (एमाले) तनहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “सबै दललाई एक ठाउँमा उभ्याउनु आजको आवश्यकता र बाध्यता हो, त्यसले गर्दा सरकारको आकार केही ठूलो हुन गएको छ ।”
संविधान जारी गर्दा साना दलको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले काँग्रेस र मधेसी मोर्चालाई समेत सरकारमा आउन आग्रह गर्नुभयो ।
संविधान जारी गर्नुभन्दा त्यसको कार्यान्वयन महत्पपुर्ण पक्ष रहेकाले संविधान विरोधी कार्य हुन नदिन र संविधानको सफल कार्यान्वयनका लागि संसद्मा एक÷दुई सिट रहेको दललाई समेत मन्त्रिमण्डलमा सहभागी गराइएको उहाँले स्पष्ट पार्नु भयो । सञ्चारमन्त्री राईले तत्कालै परिवर्तनको अनुभूति जनतालाई दिलाउनु, शान्ति, सुशासन कायम गर्नु अहिलेको अभिभारा रहेको उल्लेख गर्नु भयो ।
भूकम्पपीडितको अवस्था ज्यादै नाजुक रहेको र त्यसप्रति सरकार संवेदनशील रहेको बताउर्दै मन्त्री राईले भूकम्पपीडितलाई घर बनाउन रु दुई लाख अनुदान दिने प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनु भयो । रासस