
दोस्रो विश्वयुद्धमा कोरियाली महिलामाथि यौन शोषण गरेको जापानले पीडितका परिवारलाई ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिने भएको छ । जापानले क्षतिपूर्ति दिने सहमतिको जापान र दक्षिण कोरियाका नेताहरुले स्वागत गरेका छन् । दुई देशबीच भएको यस ऐतिहासिक सहमति दुई देशको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने उनीहरुले बताएका छन् ।जापन र दक्षिण कोरियाबीच दोस्रो विश्व युद्धको क्रममा जापानले दक्षिण कारियाली महिलाको यौन शोषण गरेको भन्ने विवादित विषयमा सहमति भएको हो । दुई लाख भन्दा धेरै महिलालाई दोस्रो विश्व युद्धको क्रममा जापानी सेनाको यौन सेविकाको रुपमा प्रयोग गरेको र अधिकांश महिला दक्षिण कोरियाका रहेको बताइएको थियो । केही महिला चीन, फिलिपिन्स, इन्डोनेसिया र ताइवानका पनि थिए । यो विषयमा दक्षिण कोरियाले जापानसँग पीडितलाई क्षतिपूर्ति तथा घटनाको विषयमा माफि माग्नु पर्ने अडान लिएको थियो । सहमति पत्रमा जापानका विदेश मन्त्री फुमिओ किसिदा र दक्षिण कोरियाका विदेश मन्त्री युन बायोन सिले हस्ताक्षर गरेका छन् ।जापानका प्रधानमन्त्री सिन्जु आवेले घटनाको विषयमा माफी मागेका थिए । जापानले पीडित महिलाका परिवारका लागि ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति पनि दिने भएको छ । यो सहमति दुई देशको सम्बन्ध थप सुधारका लागि निकै महत्वपूर्ण मानिएको छ ।