
मोरङमा मधेसी मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा सवार व्यक्तिलाई जिउँदै जलाउने प्रयास गरेपछि गोबिन्दपुरमा तनाव उत्पन्न भयो ।
सोमबार बिहान मोर्चाका कार्यकर्ताले गोविन्दपुर– ६ मा व्यक्तिगत काममा रंगेलीबाट झुर्किया आँउदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका– १२ का जीवन श्रेष्ठलाई झपरतल चौकमा रोकेर आगजनी प्रयास गरेका थिए । अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
मधेशी मोर्चाका स्थानीय नेतृत्वकर्ता बरडंगा गाविस– ६ का प्रकाश यादव, कालवीर राजवंशी र गोबिन्दपुर– ६ का नापीलाल राजंवशीले आगो लगाउने प्रयास गरेको श्रेष्ठले बताएका छन् ।
बन्दकर्ताले मोटरसाइकल चलाईरहेका श्रेष्ठलाई जिउँदै जला भन्दै मोटरसाइकल तोडफोड गरेर शरीरमा पेट्रोल छर्किएको सँगै रहेका श्रेष्ठका साथी रामलाल सुतिहारले जानकारी दिएका छन् ।
मोरङ झुर्किया– ९ का सुतिहार र भाइराम गन्गाइलाई भगाएको भन्दै बन्दकार्ताले उनलाई निर्घात कुटपिट गरेका छन् । श्रेष्ठले भने,‘बन्दकर्ताले सुरुमा मोटरसाइकल रोकेर एक्कसी पेट्रोल छर्किएर आगो झोस्न खोजे तर बिहान भएकोले लाइटर सल्किएन भाग्यले बचियो ।’