१३ पुष २०७२, सोमबार

नवजात बालबालिकालाई अनिवार्यरुपमा दिनु पर्ने खोपको अभाव देशभर देखिएको छ । यो अभावले मुलुकको राजधानी मात्र नभई ग्रामीण क्षेत्रलाई समेत पिरोलेको छ । विशेषत निमोनिया र पोलियोविरुद्ध दिइने खोपको अभाव चरम बनेको हो । विगतका बर्षहरुमा एक वर्ष मुनिका बालबालिकालाई निमोनियाँ र पोलियोको खोप मुखबाट खुवाउने गरे पनि यस वर्ष देखि खोपका रुपमा विकसित गरिएको खोपको अभाव देशभर देखिएको हो । कर्णाली अञ्चलको विकट जिल्लामा मुगुमा पुष १३ गते सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालय मार्फत उपलब्ध गराउनुपर्ने खोप अभावका कारण वितरण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका खोप सुपरभाईजर दिपबहादुर रावलले जानकारी दिनुभयो । जिल्लाको सोरु भेगका सात गाविसमा रहेका स्वास्थ्य संस्था अनुगमनका लागि गएका रावल खोप अभावमा गाउँमा बालबालिकाको अवस्था नाजुक बन्दै गएको बताउनुभयो । मुगुको यो घटना प्रतिनिधि उदाहरण बन्दा देशभरको अवस्था भने यही छ । मुगुका बालबालिकाले खोप नपाइरहेको अवस्थामा सबैभन्दा बढी सुविधा सम्पन्न मानिएको काठमाडौं उपत्यकाको बालबालिकाको हालत पनि उस्तै छ । नाकावन्दी र सीमानाकाको अवरोधका कारण औषधि पनि उतै रोकिदा यो अवस्था सिर्जना भएपनि सरकारले प्राथमिकतामा राखेर आयात गर्नु पर्ने औषधिमाथि समेत ध्यान नदिएको गुनासो चिकित्सकहरुको छ । अभावकै कारण बालबालिकालाई खोप दिन नसकिएको शिक्षण अस्पताल महाराजञ्जका बालरोग विभागका चिकित्सक एवं बालरोग विशेषज्ञ बताउनुहुन्छ ।
यता नवजात शिशुका बालबालिकाका अभिभावकलाई पनि खोप नहुँदा उत्तिकै चिन्ता थपिएको छ । शिशु जन्मिएको १६ दिन वितिसक्दा पनि खोप दिन नपाएको गुनासो यसरी पोखे एक अभिभावकले न्यूज २४ संग ।
भोलिका कर्णधार भनेर नारा घन्काइने बालबालिकाको स्वास्थ्यमाथि भएको यो गम्भीर खेलवाडको बारेमा सरकारको ध्यान जान आवश्यक छ नै । काठमाडौं उपत्यकाका सुविधा सम्पन्न अस्पतालहरुमा खोपको यो हरिबिजोग हुँदा ग्रामीण र दूरदराजका स्वास्थ्य केन्द्रको अवस्था के होला ? सोच्दा पनि कहालीलाग्न सक्छ । त्यसैले पनि सरकारले अब भने ढिलाई गर्नुहुन्न ।

LIVE TV