१३ पुष २०७२, सोमबार

नेपाल उद्योग बाणिज्य महासंघले तराई आन्दोलन र भारतको नाकावन्दीको कारण समग्र अर्थतन्त्र चौपट भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । देशभरका उद्योग व्यवसाय कलकारखाना इन्धन, ग्यांस, कच्चा पदार्थको अभावबाट बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योग सञ्चालनको वातावरण वनाउन पनि महासंघले सरकारलाई आग्रह गरेको छ । उद्योग बाणिज्य महासघको सोमबार बसेको कार्यकारिणी समितिको वैठकले चार महिना भन्दा बढी समयदेखि मधेशमा जारी आन्दोलन र भारतको नाकाबन्दीबाट मुलुक गम्भीर आर्थिक संकटमा परेको, कालोवजारी मौलाउंदै गएको, सर्वसाधारण जनता अत्यन्त कष्टकर जीवन बांच्न बाध्य भएको भन्दै सरकारको आपूर्ति प्रणालीको अवस्था प्रति बिरोध समेत जनाएको छ । बैठकले देशभरका उद्योगधन्दा, कलकारखाना बन्द भएको अवस्था प्रति सरकारले वेवास्ता गरेको आरोप समेत लगाएको छ । उद्योग व्यवसायलाई उच्च प्राथमिकतामा राखेर इन्धन लगायत कच्चा पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्दै महासघले कालोवजारी नियन्त्रण गर्ने नाममा कानुन सम्मत व्यवसाय गरी वसेका उद्योगी व्यवसायीलाई हतोत्साहित गर्ने, पक्राउ पूर्जी जारी गर्ने, मनोवल गिराउने जस्ता घटनाहरु भएको भन्दै आपत्ति समेत जनाएको छ ।
सरकारले केही समय यता देखि कालोबजारीमा सम्लग्न केही पेट्रोल पम्पका सचालक, ग्यास उद्यमी,बिक्रेता र नाजायज फाइदा लिने समूहलाई कालोबजारी गरेको अभियोगमा सरकारले कारवाही प्रक्रिया अघि बढाएको छ । महासघले सोमवार चितवनको कुरिनटारस्थित अन्नपूर्ण चुनढुंगा उद्योगमा अज्ञात समूहद्वारा ४ वटा स्क्याभेटर र २ वटा ट्रिपरलाई आगो लगाई पूर्ण क्षति गरिएको घटनाको साथै आइतवार बहुराष्ट्रिय कम्पनी पेप्सीकोलाका प्रमुख कार्यकारि अधिकृतको गाडीमाथि अज्ञात समूहबाट आगजनी भएको घटनाको भत्सर्ना गर्दै उद्योग व्यवसाय, उद्योगी व्यवसायीको शान्ति सुरक्षाको प्रत्याभुति गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV