
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग विद्यमान समस्या समधान गरी आर्थिक क्षेत्रमा अगाडि बढ्नका लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिलाई आफ्नै निवासमा आर्थिक सम्वृद्धिका लागि निजी क्षेत्रको खाका पनि माग्नुभयो । प्रधानमन्त्री ओलीसंग आर्थिक समुन्नतीका विषयमा छलफल गर्न करिव ६० जना उद्योगी व्यवसायीहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । अमेरिकाले दिन लागेको ग्रामेन्टको कोटाबाट कसरी अधिकतम लाभ लिन सकिन्छ भने प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीसँग सुझाव माग्नुभएको थियो । उहाँले कृषि क्षेत्रमा आत्मनिर्भरताका निम्ती निजी क्षेत्रको खाका पनि माग्नुभयो ।
छलफलमा महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्प, बन्द हडताल र नाकाबन्दीले निजी क्षेत्र समस्यामा परेको प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । चाँडै समस्याको समधान गर्न आग्रह गर्दै अध्यक्ष मुरारकाले यही अवस्था लम्बिएमा निजी क्षेत्र बिरामी हुने प्रधानमन्त्रीलाई अवगत गराउनुभएको थियो ।
अहिलेको अराजक स्थितीको समधान भएमा उद्योग व्यवसाय सञ्चालनमा आउने सहभागीहरुले बताएका छन् । ग्रामेन्ट उत्पादन बढाएर अमेरिका निर्यात गर्नका लागि पनि अहिलेको स्थिती बाधक रहेको उनीहरुले स्पष्ट पारेका छन् ।