१३ पुष २०७२, सोमबार

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनमा सरकारद्वारा दमन भएको भन्दै शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्न पाउनुपर्ने माग गरेको छ ।

मोर्चाको आइतबार बसेको बैठकले मधेशी, आदिवासी÷जनजाति, थारु, दलित, महिला, मुस्लिम, उत्पीडित, तथा सीमान्तीकृत समुदायमाथिको शोषण, उत्पीडन, दमन र विभेदविरुद्ध मधेश र थरुहटमा जारी आन्दोलनमा सरकारका तर्फबाट दमन हुँदै आएको निष्कर्ष निकालेको छ ।

यही पुस ११ गते विराटनगरको जोगवनी नाकामा धर्नामा बस्नुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको भन्दै मोर्चाले निन्दा गरेको छ ।

उक्त घटनाको न्यायिक छानबिन गरी दोषिमाथि अविलम्ब कारबाही गर्न माग गर्दै मोर्चाले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्न पाउने जनतको लोकतान्त्रिक अधिकारलाई सरकारले निषेध गर्ने कार्यको अन्त्य गर्न माग गरेको छ ।

साथै मोर्चाको निर्णय अनुसार घोषित विरोधका कार्यक्रममा शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्न गराउन मोर्चासँग आबद्ध सबैमा मोर्चाले अनुरोध गरेको छ ।

बैठकले अध्यक्ष महतोलगायत सम्पूर्ण घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावनाका उपाध्यक्ष नरसिंह चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV