१३ पुष २०७२, सोमबार

भीमदत्तनगर । उप–प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले नयाँ संविधानलाई सकारात्मक रूपले हेर्नुपर्ने बताउँदै संविधानमा असन्तुष्ट विषयलाई बौद्धिक बहसमा ल्याएर समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रममा सम्बोधन गर्दै उप–प्रधानमन्त्री मैनालीले संविधानमा समेटिएका राम्रा विषयलाई अध्ययन गर्न संविधानसित असन्तुष्ट मधेशी मोर्चाका अगुवालाई आग्रह गर्नुभएको छ ।

“संविधान कुस्ती खेल्ने विषय होइन” – उप–प्रधानमन्त्री मैनालीले भन्नुभयो – “असन्तुष्टि राख्नु राम्रो हो तर असन्तुष्टिका नाउँमा संविधान च्यात्ने, जलाउने विषय रहस्यमय छन् ।”

लोकतान्त्रिक विधिबाट संविधानमा नसमेटिएका विषयलाई समावेश गर्न पहल थाल्न उहाँले आग्रहसमेत गर्नुभयो ।

“अधिकतम् सहमतिबाट यो संविधान बनेको छ” – उहाँले भन्नुभयो – “सबै दल तथा सबै समुदायका विषय समेटिन सकिँदैन ।”

तराईमा संविधानका विषयलाई लिएर आन्दोलनरत मधेशी मोर्चाले नाजायज माग राखेर आन्दोलन गरिरहेको दाबी गर्दै मैनालीले सङ्घीयता, जातिका नाममा प्रदेशको नामाकरण असम्भव रहेको बताउनुभयो ।

“मधेशीको माग हात्तीलाई झोलामा हाल्नुपर्छ भन्ने जस्तै भयो” – उहाँले भन्नुभयो – “बच्चा कराउँदैमा आमाले हात्तीलाई झोलामा हाल्न सक्दैनन् ।”

संविधानले पहिचान दिने अभ्यास सुरुवात गरेको बताउँदै उप–प्रधानमन्त्री मैनालीले संविधान कार्यान्वयनका लागि सरकार, राजनैतिक दल, नागरिक समाज, न्याय क्षेत्र लाग्नुपर्नेमा जोडसमेत दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV