
गौशाला। नेपालमा बन्द हडतालका कारण भारतीय रुपैयाँको अभावमा अहिले हजाराँै नेपाली ग्राहक भारतीय बजारमा ठगिन र लुटिन बाध्य भएका छन् ।
महोत्तरीका सीमासँग जोडिएको भारतीय बजारहरु भिट्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर व्यापारीले नेपाली ग्राहकलाई लुटिरहेका छन् ।
भारतीय बजारहरुमा सरसामान खरिद गर्न पुगेका नेपालीसँग भारतीय व्यापारीले एक सय भारुको सट्टा १७५ नेपाली रुपैयाँसम्म लिने गरेको जलेश्वर– ४ का शिवचन्द्र चौधरीले बताउनुभयो ।
भारतीय बजारमा किनमेल वा आवश्यक कामका लागि पुग्ने नेपालीले रु एक हजार नेपाली दिएमा रु ५८० मात्रै भारु दिने गरेको मनराका सत्यनारायण मण्डलले बताउनुभयो ।
त्यस्तै कोल्हुवा वगेया बस्ने रवीन्द्र ठाकुरले आफूले सीमापारिको बजारमा गएर रु एक सय नेपाली दिँदा ५८ रुपैयाँ भारु मात्रै पाएको उल्लेख गर्नु भयो ।
महोत्तरी, धनुषा, र सिन्धुलीसम्मका ग्राहकहरु महोत्तरीसँग जोडिएका विभिन्न नाकापारिका बजारमा गएर सरसामान खरिद गर्ने गर्दछन् भने अहिले भारतीय व्यापारीहरु नेपालीसँग मनपरी ढङ्गले एक सय भारुका लागि १७२ देखि १७५ र कसै कसैले रु १८० सम्म पनि असुली गर्ने गरेको सर्वसाधारण उपभोक्ताले बताएका छन् ।
महोत्तरीको सीमासँग जोडिएका विभिन्न भारतीय बजारमा दैनिक पाँच हजारभन्दा बढी नेपाली ग्राहक जाने गर्छन् भने दैनिक रु दुई करोडभन्दा बढीको सरसामान खरिद गर्ने गरेको भारतीय व्यवसायीहरुले स्वीकारेका छन् । रासस