१३ पुष २०७२, सोमबार

मधेश आन्दोलन र भारतीय नाकाबन्दीका काराण भारतीय माछा भित्रिन छाडेपछि स्वदेशी जिउँदो माछाले बल्ल आएर नेपाली बजारमा ठाउँ पाएको छ । बाराबाट दैनिक काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा दैनिक १५ क्वीन्टल भन्दा बढी माछा विक्री वितरणका लागि पठाउदै आएको मत्स्य व्यवसायी संघ बाराले जनाएको छ ।
मारिएको विदेशी माछाभन्दा केही महँगो हुने जिउँदो माछा स्वास्थ्यका लागि उत्तम मानिएकाले पनि उपभोक्ता जिउँदो माछातर्फ आकर्षित भएका हुन् । अन्य मासुजन्य उत्पादन भन्दा बहुउपयोगी गुणको खानी मानिएको माछा स्वास्थ्यका लागि राम्रो मानिन्छ । मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहलले नेपालमै सबैभन्दा बढी माछा उत्पादन हुने जिल्ला बाराबाट एक सय ५० किलो माछा लगेर काठमाण्डौको बल्खुमा व्यवसाय थालेका थिए । अहिले चितवनबाट समेत आयात गरी साहले दैनिक १५ क्विन्टलसम्म माछा बिक्री गर्दै आएका छन । राजधानीमा जिउँदो माछाहरु रहु, कमन, ग्रास, बिगहेड, सिल्भर, नैनी, कत्लेजातका माछाको बिक्री राम्रो हुने गरेको साहको अनुभव छ ।

अहिले बारा र चितवनबाट दैनिक १५ क्विन्टलभन्दा बढी जिउँदो माछा लगेर राजधानीका ५२ देखि ५५ वटा पसलमार्फत बिक्री गर्ने व्यवस्था मिलाएको बताउदै अध्यक्ष साहले मासुको तुलनामा माछाको मासुमा भिटामिन, मिनरल, ओमेगा, क्यालोरी, केमिनो एसिडलगायतका तत्व पर्याप्तमात्रामा पाइने भएकाले यसको उपयोगिता बढ्दै गएको बताए । अहिले उनी वार्षिक करिब १४ करोड रुपैयाँको जिउँदो माछाको कारोबार गर्छन् । बाराका ९६ गाविसको साढे ६ सय पोखरीमा माछा उत्पादन हुन्छ । व्यवसाय फस्टाउँदै गएपछि उनले १२ हजारदेखि १५ हजार मासिक तलबमा काठमाडौंमा तीनजना र बारामा आठजनालाई रोजगारीसमेत दिएका छन्।

साहका अनुसार राजधानीमा जिउँदो माछाको थोक मूल्य चार सयदेखि चार सय ५० रुपैयाँ तोकिएको छ । । नेपालमा ८० प्रतिशत आफ्नै उत्पादन र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशत भारतीय र ३५ प्रतिशतमात्रै स्वदेशी उत्पादन उपभोग हुन्छ । हाल नेपालमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु, जुम्ला र कालीकोट बाहेक देशका सबै जिल्लामा माछापालन गरिएको छ । सरकारले तराईमा एक हेक्टर (डेढ बिघा) मा हुने माछा पालनका लागि १ लाख रुपैयाँ अनुदान दिन्छ भने पहाडमा यसको दोब्बर । अनुदान रकमका कारण समेत बारामा माछा व्यवसाय फस्टाउँदो छ ।

LIVE TV