
भुकम्पका कारण पीडा व्यहोर्नेहरुको दशा अहिले दोब्बर बनेको छ । वर्षातमा पानीको झरीलाई त्रिपालले जसोतसो तारेकाहरुलाई अहिले बल्लतल्ल बनाएको कटेरोमा हिउँदको बढ्दो चिसो छल्नलाई भने हम्मेमहम्मे परेको छ । चिसो बढेपछि साना बालबालिकादेखि बृद्धाबृद्धा मात्र होइन भुकम्पमा घाइते भएकाहरुलाई हम्मे हम्मे परेको छ ।
बढ्दो चिसोका कारण नुवाकोटको काहुँले गाविसका स्थानीय भुकम्पपीडितको दैनिकी कष्टर बन्दै गएको छ । चिसोको कारण उनीहरुमा विभिन्न स्वास्थ समस्या समेत देखा पर्नथालेको छ । जाडोमा न्यानो स्थान र कपडाको अभावमा विभिन्न स्वास्थ समस्याले सताएको उनीहरुको गुनासो छ ।
बाँसको टहराले चिसोबाट जोगिन साह्रै गाह्रो भएको पीडित स्थानीयले बताए । भएका घर र लत्ताकपडापनि भुकम्पमा परेपछि यतिबेला जाडो छल्न उनीहरुलाई हुनसम्मको सकस भएको छ । अस्थायी रुपमा बनाएको टहरामा बस्नलाई ठाउँ समेत अभाव भएपछि कतिपयलाई रात कटाउन पनि गाह्रो छ । ठूलो परिवार भएकालाई त झन सानो कटेरोको बास निकै गाह्रो देखिन्छ । भुकम्पबाट बचेखुचेका सामानहरु जोडजाम गरी तयार पारेको कटेरोले हावा समेत छल्न नसक्दा चिसोमा अनेक समस्याले सताउँने गरेको उनीहरुको दुखेसो छ ।
अझ भुकम्पमा परि घाइते भएकाहरुले चिसोले आफ्नो स्वास्थ्यमा थप समस्या सिर्जना गरिदिएको बताए । केहीले अझैपनि उपचार गराइरहेका छन् । यस्तो बेलामा थप स्याहार,पोषण र उपचारको खाँचो भएपनि त्यसबाट आफूहरु विमुख हुनुपरेको पीडितहरुको गुनासो छ । त्यतिमात्र नभई कतिले त उपचार खर्च समेत पाएका छैनन् ।
वर्षातको पानीबाट जसोतसौ पार लगाएका यी भूकम्प पीडितहरुको मौसमसँगै चिसिदै गएको मन र विश्वासलाई मुलुकको तातिदो राजनीतिक सरगर्मीले खासै न्यानो बाँड्न सकेको छैन । कतिसम्म भने जाडो छल्ने घर ढलेपछि सरकारको भर पर्दा आफूहरु थप मारमा परेको भन्दै उनीहरु आफैंलार्य धिक्कार गरिरहेका छन् ।