१३ पुष २०७२, सोमबार

– रिया भण्डारी

सम्पूर्ण देशको स्वास्थ्य क्षेत्रको नियमनकारी निकाय नेपाल मेडिकल काउन्सिल सूचनाको हक बिपरित गएको छ । पछिल्लो समय बिभिन्न बिषय र समाचारका बारेमा आधिकारिक सूचना माग्न काउन्सिल पुग्नेहरु रित्तै फर्कनुपर्ने अवस्था छ । यसरी स्वास्थ्य क्षेत्रको नियमनकारी निकायले नै आम नागरिकको सूचनाको हकमाथिको अधिकार हनन गरिरहँदा अनियमितता र मेडिकल शिक्षाको कालो बजारीमा संलग्नहरुको मनोबल उच्च हुँदै गएको छ ।
जो रक्षक उही भक्षक भन्ने उखानलाई चरितार्थ पार्दै मेडिकल काउन्सिलले पछिलो समय आम नागरिकको सूचनाको हक समेत हनन गर्दै आएको धेरेको गुनासो छ । यसबारेमा पटक पटक काउन्सिको ध्यानकर्षण गराउँदा पनि काउन्सिल कानमा बतास हालेर बसिरहेको छ । न्यूज २४ टेलिभिजनले कारबाहीमा परेका चिकित्सकहरु सम्बन्धि केहि तथ्यांक माग्दा काउन्सिलले यसबारेमा कुनै सूचना र जानकारी उपलब्ध गराउँन मानेन ।

केहि समय अगाडि पनि नेपाल सरकारको छात्रवृत्तिमा चिन अध्यन गरेर फर्केका विद्यार्थीको बारेमा हामीले सूचना माग्दा पनि काउन्सिल यसरी नै चुप लागेको थियो ।
स्वास्थ्य क्षेत्रको नियमनकारी संस्था अझ भनौ सम्पूर्ण जनताको गुणस्तरीय स्वास्थ्य सेवाको लागि दक्ष जनशक्तिको जिम्मेवारी लिएको संस्था नै यसरी गैर जिम्मेवार बन्नु सोचनीय विषय हो । पछिल्लो समय अस्पतालहरु विवादमा आउनुले पनि कहिँ कतै मेडिकल शिक्षामै कमजोरी त होइन भन्ने आम नागरिकको आशंकालाई पनि काउन्सिलको यो मौनता र उदासीनताले थप बल थपिदिएको छ । मेडिकल शिक्षाको कालो बजारीको समेत कुरा चलिरहंदा मेडिकल काउन्सिलले कलेजहरूको गुणस्तरमा भन्दा तिनका कमीकमजोरी ढाकछोप गरी व्यक्तिगत स्वार्थ र लाभका लागि अवैज्ञानिक रूपमा सिट वितरण गरेको धेरैको आरोप र दाबी रहँदै आएको छ । काउन्सिलका कैयौं अनुगमन प्रतिवेदन अपुरो, त्रुटिपूर्ण र तथ्यरहित हुने गरेको समेत धेरै अनुसन्धानहरुले पुष्टि गरिसकेको छ ।

मेडिकल शिक्षा सम्बन्धी सूचना उपलब्ध गराउँन काउन्सिललाई आखिर केले रोकिरहेकोछ,अहिले सर्वत्र चासोको विषय बनिरहेको छ ।

LIVE TV