१२ पुष २०७२, आईतवार

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आइतबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताउनुभयो । काँग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म पहिलो चरणमा संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले यी सबै काम गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । महामन्त्री सिटौलाले भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । काँग्रेस अहिले महाधिवेशनको तयारीमा जुटेको भन्दै उहाँले १३ औँ महाधिवेशनले नयाँ दृष्टिकोण र विचार ल्याउने पनि बताउनुभयो ।

LIVE TV