१२ पुष २०७२, आईतवार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले नाकाबन्दीको समस्या र मधेस आन्दोलनको माग सम्बोधन गर्न मात्र आफुले पहल गरिरहेको प्रष्ट पार्नु भएको छ । आफ्नो पहल सरकार परिवर्तनका लागि नभएको पनि उहाँको प्रष्टोक्ति छ । आइतवार विराटनगरमा संचारकर्मीहरुसंग अध्यक्ष दाहालले सरकारको काम कारवाही प्रति सन्तुष्ट नभएपनि अहिले सरकार छोड्ने अवस्था नभएको बताउनु भयो । उहाँले संविधान कार्यान्वयन गर्नका लागि प्रमुख राजनीतिक दलहरु एक ठाँउ आउनुको विकल्प समेत नभएको टिप्पणी गर्नुभयो ।अध्यक्ष दाहालले सीमांकनको मुद्दा राजनैतिक समिति मार्फत टुङ्ग्याउन मधेसी मोर्चा सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले अहिले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता नहुने बताउदै त्यसमा नयां संशोधन हालेर मधेसको मागलाई सम्बोधन गर्न सकिने पनि प्रष्ट पार्नुभयो ।अध्यक्ष दाहालले सरकार गठन हुनु अघि नै मंत्रालय टुक्र्याउने सहमति भएको जानकारी दिदै मंत्रालय टुक्र्याउन आवश्यक भएपनि मुलुक गम्भीर स्थितिमा रहेकाले अहिले नै नटुक्र्याएको भए राम्रो हुने थियो भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टीले पठाउने राज्यमंत्री बारे थप छलफल गर्नुुपर्ने अवस्था आएको पनि जानकारी दिनुभयो । उहांले आन्दोलनकारी दलसंग भईरहेको बार्ता र छलफलले देशमा भएको समस्याको चाडै समाधान हुने बताउनु भयो ।

LIVE TV