
अमेरिकाको विभिन्न स्थानमा भारी वर्षासंगै आएको आँधीमा परी २२ जनाको मृत्यु भएको छ । विगत एक हप्तादेखि लगातार वर्षा भईरहेका कारण हजारौँ प्रभावित भएका छन् ।वर्षासंगै आएको बाढीका कारण न्युयोर्कमा २ हजार भन्दा बढी घर क्षतिग्रस्त भएको छ भने नदी किनार छेउमा अवस्थित वस्तिमा रहेका करिब ४ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाढीमा परी मिसिसिपीमा १० जनाको मृत्यु भएको छ भने टेनेसीमा ६ तथा अराकांस र अलावामा एक –एक जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै टेक्सास राज्यमा ४ जनाको मृत्यु भएको जनाइएको छ । मिसिसिपीमा करीब ६० जना घाईते भएको बताइएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी छ । यसैवीच ओक्लाहोमा शक्तिशाली तुफान आउनुका साथै १६ ईन्चसम्म बरफ जम्न सक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । तुफानका कारण रुखहरु भाँचिएर सडक तथा विद्युत आपुर्ति बन्द भएको छ । वर्षा केहि दिन जारी रहने भएकाले सुरक्षित रहन आग्रह गरिएको छ ।



