१२ पुष २०७२, आईतवार

समुह चरणको खेलमा अपेक्षाकृत जित हात पार्न नसक्दा सेमिफाइनल पुग्न निक्कै कठिन बनेको नेपालले साफ च्याम्पियनसीप फुटवल अन्तर्गत समुह चरणको अन्तिम खेलमा दक्षिण एशियाली महारथी भारतबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकासंग पराजित भएपछि झस्किएको नेपाली टोली भारतबिरुद्ध जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । दक्षिण भारतको केरलास्थित ग्रिनफिल्ड रंगशालामा प्रतियोगिताको समुह ए मा रहेको नेपालले अन्तिम खेलमा भारत बिरुद्ध आइतबार खेल्दैछ । पहिलो खेलमा श्रीलंका बिरुद्ध अप्रत्यासित पराजय ब्यहोर्दै नेपालले सेमिफाइनल प्रबेशको संभावना कमजोर बनाइसकेको छ । काठमाडौंमा भएको अघिल्लो साफ च्याम्पियनसीपको समुह चरणमा नेपालले भारतलाई पछिल्लो पटक हराएको थियो । त्यसयता भारत र नेपाल चार पटक आमने सामने भएका छन । चारै खेलमा नेपालले भारतबिरुद्ध गोल गर्न सकेको छैन । नेपाली टोलीका प्रशिक्षक प्याट्रिक एजम्सले सेमिफाइनल प्रबेशको लागि भारतबिरुद्धको खेल जित्नैपर्ने बाध्यता रहेको बताउदै खेलाडीहरुले आफुलाई अव्व सावित गर्ने बताउनुभयो । भारतको टोली नेपालभन्दा तुलनात्मक रुपमा बलियो भएपनि टोलीको सन्तुलित प्रदर्शनले भारतलाई हराउन सकिने बिश्वास प्रशिक्षक एजम्सको छ । सिनियर तथा अनुभवी खेलाडीहरु खेल मिलेमतोको आरोपमा प्रतिबन्धमा परेपछि नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व छ । नेपाली टोलीमा नयाँ अनुहार सहित नयाँ प्रशिक्षकले नयाँ समिकरण अनुसार खेलाएका छन । जसले गर्दा खेलाडीमा सन्तुलन मिलेको छैन । नेपाली टोलीका कप्तान तथा स्ट्राइकर अनिल गुरुङले नेपालले अहिलेसम्म नखेलेको ४–३–३ को फम्र्याटमा अहिले खेल्नुपर्दा केहि सन्तुलन नमिलेको स्वीकार गरे ।यद्यपी कप्तान अनिलले श्रीलंकासंग अप्रत्यासित पराजय ब्यहोरेपछि हतात्साही बनेका नेपाली समर्थकका लागि भारतबिरुद्धको खेलमा जित हात पार्दै सेमिफाइनल पुग्ने बिस्वास व्यक्त गरेका छन ।समुह एमा भारत शीर्ष स्थानमा छ । भारतले श्रीलंकालाई दुई शून्य गोलले हराएको थियो । श्रीलंकाले नेपाललाई एक शून्य गोलले हराएको हो । नेपाल सेमिफाइनलमा पुग्न भारतबिरुद्धको खेलमा कम्तिमा एक शून्य गोलको नतिजा अनिवार्य छ । नेपालका लागि १० अन्तर्राष्ट्रिय खेलमा भएको गोल खडेरीबाट स्ट्राइकरहरुमा दवाव बढेको छ भने टोलीलाई नै दवाव पारेको छ । एक हजार मिनेटभन्दा बढिको गोलबिहीन यात्रालाई तोड्दै नेपाल भारतलाई हराएर प्रतियोगिताको सेमिफाइनलमा पुग्न कठिन भएपनि असंभव भने छैन ।

LIVE TV