
– बुद्धि शर्मा
अरव लिगले उत्तरी इराकमा रहेका टर्कीस सेनालाई तत्काल उक्त क्षेत्रवाट हटाउन टर्की सरकारलाई आग्रह गरेको छ । टर्कीस सेनाको उपस्थिति कायम रहे मध्यपूर्वमा तनाव थप बढाउने लिगले स्पष्ट पारेको छ ।
इजिप्टको राजधानी कायरोमा शनिवार बसेको अरव लिगको बैठकले इराकवाट टर्कीका सेनाहरु हट्नु पर्ने निर्णय गरेको हो । इराकी सरकारको आपत्ति माझ टर्कीस सेना इराकमा तैनाथ हुँदा त्यसले इराकको सार्वभौमिकता कमजोर पार्ने मात्र नभई क्षेत्रीय सम्वन्धलाई नकरात्मक बनाउने लिगले स्पष्ट पारेको छ । लिग बैठकले टर्की सरकारलाई तत्काल सेना इराकवाट हटाई क्षेत्रीय शान्ति स्थापनामा सहयोग गर्न आग्रह पनि गरेको छ । टर्कीले उत्तरी इराकको बासिका भन्ने स्थानमा इस्लामिक विद्रोही इस्लामिक स्टेट आईएस विरुद्ध लड्न सहयोग गर्ने भन्दै कुर्दिस फौजको मद्यतकोलागि आधुनिक हतियार सहित सेनाहरु पठाएको थियो । टर्कीस सेना आफ्नो भूभागमा प्रवेश गरे लगत्तै इराकले आफ्नो सार्वभौमिकताको हनन भएको भन्दै सेना फिर्ता लैजान टर्की सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको थियो । त्यति मात्र नभई इराकले राष्ट्र संघ सुरक्षा परिषद्मा यो मुद्या पेश गर्दै टर्कीलाई गल्ति स्वीकार गरी सेना फिर्ता लैजान आग्रह गर्न राष्ट्र संघलाई आग्रह गरेको थियो ।
अरव लिगको पछिल्लो निर्देशनले टर्की माथि आफ्ना सेना फिर्ता लिन दवाव बढेको छ । टर्की र इराक बीच पहिले त्यति खराव सम्वन्ध नरहे पनि इराकमा सद्याम हुसेनको शासन पतन भएपछि सम्वन्ध सामान्य बन्न सकेको छैन् ।