११ पुष २०७२, शनिबार

स्याङजा । ‘भाइको बिहे गर्न मंसिरमा आउँछु,’ भनेर फोन गरेका ३२ वर्षका जयबहादुर रोकाहाको जिउँदो शरीर अब कहिल्यै घर फर्कनेछैन । चार महिनाअघि साउदी अरबमा ग्यास पाइप सफा गर्ने क्रममा मृत्यु भएपछि उनको मृत शरीरसमेत घर आइपुगेको छैन । मृत्यु भएको चार महिनासम्म पनि शव हेर्न र मृतकको अन्त्येष्टि गर्न नपाउँदा परिवार झनै दुःखी भएका छन् ।

स्याङजाको दरौं गाविस १ कुन्चेबारीका जयबहादुर रोजगारका लागि दुई वर्षअघि साउदी अरब पुगेका हुन । केही महिनाअघि आमासँग फोनमा अन्तिम कुराकानी हुँदा जयबहादुरले भाइको विवाहको मिति तय भएपछि घर आउने बताएका थिए । आमाले पनि मंसिरमा भाइको बिहे गर्ने र त्यही समयमा आउन छोरालाई भनेकी थिइने । फोनमा कुराकानी भएको २/४ दिनमै उनको मृत्यु भएको खबर आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

साउदी अरबस्थित ग्यास कम्पनीका कार्यरत जयबहादुर भदौ ३ गते ग्यास पाइप सफा गर्न गएका साथीलाई बचाउन खोज्दा उनको पनि मृत्यु भएको छिमेकी रामबहादुर थापाले बताए । निम्न आर्थिक अवस्थाको उनको परिवारमा अहिले आमा, पत्नी र नाबालक छोरा छन् ।

 

LIVE TV