१० पुष २०७२, शुक्रबार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव अगाडि बढेकोले आन्दोलन र नाकाको धर्ना फिर्ता लिन मधेश केन्द्रित दललाई आग्रह गर्नुभएको छ ।अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा मोर्चाका मागमा छलफल भएको बताइएको छ । छलफलमा दाहालले आन्दोलन र धर्नाको कार्यक्रम फिर्ता लिन गरेको आग्रहलाई यादव र ठाकुरले सकारात्मकरुपमा लिएको पनि बताइएको छ । दाहालले नेपाली कांग्रेस र एमालेसँग पनि लचकतापूर्वक अगाडि बढ्न आफूले बारम्बार भनिरहेको मोर्चा नेतालाई जानकारी गराउनुभएको थियो । भेटमा मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव आफूहरुको सहमति विना अगाडि बढाइएकोले उक्त प्रस्ताव स्वीकार्य नहुने बताएका थिए । त्यसैगरी, दाहालले शुक्रवार बिहान नै नेपाली कांग्रेस, नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो । दाहालले बिहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गर्नुभएको हो । जारी राजनीतिक गतिरोध अन्त्यका लागि दाहालको सक्रियता बढेको उहाँलको सचिवालयले जनाएको छ ।

LIVE TV