
आज धान्यपूर्णिमा पर्व धान्यपर्वतदान गरी मनाउने परम्परा छ । आजकै दिन सुदूरपश्चिमको गैडुपूजा, नेवारी समाजमा यः मरी पुन्ही,किरात समाजमा उधौली र इशाई समुदायमा क्रिसमस पर्व मनाइँदै छ ।मार्गशीर्ष शुक्लपक्षको पूर्णिमा तिथिमा पर्ने यस पर्वमा धान्यपर्वत दान गर्नुका साथै धान्यलक्ष्मीको पूजा गरिन्छ । धान्यपूर्णिमाका दिन धनेश्वर,अनन्तलिङ्गेश्वरमा मेला लाग्दछ भने अवधूत दत्तात्रयको जन्मजयन्ती मनाइन्छ । यसै दिन नेवारी समुदायमा ज्यापु दिवस मनाइनुका साथै परंपरागत चामलको परिकार य मरी बनाई यः मरीपुन्ही मनाइन्छ । उता पश्चिम क्षेत्रमा गैडुपूजा गर्ने परम्परा रहेको छ । यसै दिन राई किरात समुदायमा उधौली पर्व मनाइन्छ । कृषिसभ्यतामा आधारित यस पर्वमा जाडो बढ्दै गएपछि लेकबाट गाईवस्तु लिएर उँधो बेंसीतर्फ झर्ने चलनलाई परम्पराको रुपमा उधौली पर्व मनाउने गरिन्छ । यसै गरी आज इशाईधर्मावलम्बीहरु क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइष्टको जन्म दिनमा हरेक वर्ष डिसेम्बर २५ तारिखमा क्रिसमस मनाउने गरिन्छ । क्रिसमसका अवसरमा चर्चहरुमा प्रार्थना गरिनुकासाथै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।