१० पुष २०७२, शुक्रबार

चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा आज पनि उच्च स्तरीय भेटवार्तामा ब्यस्त हुनुहुने भएको छ । परराष्ट्रमन्त्री थापाले आज चिनिया समकक्षी वाङ यीसँग भेट गर्ने कार्यक्रम छ ।आज अपरान्ह हुने चिनियाँ परराष्ट्रमन्त्री वाङसँगको भेटवार्तामा दुई देशवीच भएका सहमतिको दस्ताबेजमा हस्ताक्षर हुने परराष्ट्र स्रोतले जनाएको छ । यसैगरी, पररष्ट्रमन्त्री थापाले समकक्षी वाङसँगको भेटमा नेपाल–चीनवीचको व्यापारिक नाका सञ्चालन, पेट्रोलियम पदार्थको आयात, पारवहन लगानी व्यवस्था र चीनले नेपालमा गर्ने लगानीका विषयमा पनि कुराकानी हुने छ । थापाले पेट्रोलियम पदार्थ आयात गर्ने विषयमा पनि छलफल गर्नुहुने बताइएको छ । यसअघि हिजो परराष्ट्रमन्त्री थापाले चीनका उपराष्ट्रपति ली युआन छावोलाई भेट गर्नुभएको थियो । उपराष्ट्रपति लीसँगको भेटमा थापाले संविधान जारी भएपछि नेपालमा उत्पन्न परिस्थिति, भारतले गरेको नाकाबन्दी, इन्धन अभाव लगायतका विषयमा जानकारी गराउनुभएको थियो । भेटका क्रममा उपराष्ट्रपति लीले नेपाललाई थप इन्धन सहयोग गर्न चीन तयार रहेको बताउनुभएको थियो । आजको भेटवार्तापछि नेपाली प्रतिनिधिमण्डल भोलि ग्रेटवालको भ्रमणमा जाने कार्यक्रम रहेको छ । बेइजिङबाट आइतबार सिचुवान प्रान्तको छन्तु प्रस्थान गर्ने भ्रमणको कार्यतालिका छ । उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV