९ पुष २०७२, बिहीबार

देश शान्ति प्रक्रियामा आएको ९ वर्ष वितिसक्दा पनि तत्काली सशस्त्र युद्धमा परी घाइते भएका माओवादी पूर्व लडाकुहरुको अझै उपचार हुन सकेको छैन । पूर्व लडाकुहरु अझै पनि द्वन्दका निशानी लिएर बाँच्न बाध्य छन् । माओवादीकै नेतृत्वमा २ पटक सरकार बन्यो र पटक पटक सरकारमा सहभागी भयो तर उनीहरुको घाउँमा मल्हमपट्टी कसैले लगाइ दिएनन् ।
साना ठूला गरी ३० वटा युद्धमा लडेका माओवादी पुर्व लडाकु दोलखाका अमृत बहादुर बस्नेत यतिवेला शरिरमा बमका ७० वटा छर्रा बोकेर धरान २३ पानमारामा परिवार सहित बस्दै आएका छन् । डेरा गरी पसल चलाएर जिन्दगी विताउन भन्दा शरीरमा गडेका बमको छर्राको पीडा सहन निकै गाह्रो भएको उनको दुखेसो छ ।
तत्कालीन सत्ताको अत्याचार सहन नसकेर माओवादी प्रवेश गरेका बस्नेतको सपना थियो धनी गरीब समान भएको हेर्ने । तर आज त्यो सपना वालुवाको घर रहेछ भन्ने उनलाई लागेको छ । हेर्दा हेर्दे आँफै सँगका साथीहरु राज्य सञ्चालनको मुख्य स्थानमा पुगेर रुप रँगनै परिवर्तन गर्दा समेत आफ्नो युद्धको घाउमा कसैले मलम नलगाइ दिँदा असली क्रान्तिको अर्थ बुझ्न निकै ढिला गरेछु भन्ने उनलाई पछुतो भएकोे छ । ९ वर्ष र ३ वर्षका दुइ छोरालाई पढाउन एउटा किराना पसल थापेका बस्नेतलाई आफ्नो नियमित उपचारका लागि रकमको अभाव छ ।
माआवादी पुर्व लडाकु नै रहेकी श्रीमतीले उनलाई पसलमा निकै सहयोग गरिरहेकी छिन् । शरीर भित्र गडेका बमका छर्राले निकै च¥याउने गर्छ । शरीरका विभिन्न भागमा अप्रेसन गरिएको छ । अझै टाउका, हात, पिठ्युँ तथा खुट्टामा बमका छर्रा बाँकी नै छन् । जसको तत्काल अप्रेसन नगरे प्यारालाइसिस तथा क्यान्सर हुन सक्ने चिकित्सकको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV