
बर्षेनी हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरु चिया बगान हेर्नकै लागि धेरै रकम र समय खर्चेर इलाम जाने गरेका छन् । तर इलामको जस्तै सुन्दर चिया बगान लमजुङको भुजुङमा पनि रहेका छन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटकदेखि स्कुले विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ । पर्यटकहरुको आकर्षण बढेसँगै भुजुङको चिया बगान पश्चिमाञ्चलकै इलामको रुपमा विकास भएको छ । लमजुङको ग्रामीण पर्यटकीय गाउँ भुजुङमा १ सय ३ रोपनी क्षेत्रफलमा चियाखेति गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुङद्धारा संचालित चिया खेती स्थानीय वासिन्दाको सक्रियतामा लगाइएको हो । भुजुङ गाविसका ९ वटै वडाका स्थानिय वासिन्दाले चिया खेती लगाएका छन् । गाउँलेहरुको जीवनस्तर उकास्न विस्तार गरिएको चिया खेतीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत गाउँमा भित्र्याउन सहयोग गरेको छ । २०५७ देखि २०६७ सालसम्म चिया रोपेका स्थानीयले विगत ५ बर्ष अघिदेखि उत्पादन समेत लिदै आएका छन् । गाउँमै चिया फस्टाउने भएपछि स्थानीयहरुले यसको विस्तारलाई थप तीब्र पारेका छन् । समुन्द्री सतहदेखि झण्डै १ हजार ७ सय मिटरको उचाइमा अवस्थित भुजुङमा लगाइएको चियाले त्यहाँ सम्म पुग्ने हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरुको मन समेत जित्दै आएको छ ।१५ बर्षअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङको सहयोगमा स्थानिय बासिन्दाले इलामबाट चियाको बेर्ना ल्याएर भुजुङको त्रिभुवन माध्यामिक विद्यालय नजिकै करिब २० रोपनी जग्गामा परिक्षणको रुपमा चिया खेती बिस्तार गरेका थिए । तीन बर्षसम्म गरिएकोे परीक्षण सफल भएपछि २०५९ सालदेखि भुजुङबासीले थप क्षेत्रफलमा चिया खेती बिस्तार गरेका हुन् । अहिले चिया बगानमा तख्दा, गुम्ति र तारापुर जातका कुल ६५ हजार ४ सय ५ चियाका बोटहरु छन् । हरेक १५–१५ दिनको फरकमा टिप्दै आएको चियाको मुनाहरु अहिले हप्ता दिन नबित्दै टिप्ने गरेको स्थानियबासीले बताएका छन् । कम्मर साईजमा मुना पलाएपछि चिया टिपेर कृषकहरुले आफ्नो घर तथा होमस्टेहरुमा प्रयोग गर्दै आएका छन् । गाउँमा प्रशस्त मात्रामा चिया उत्पादन भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुङले प्रसोधनका लागि आबश्यक पर्ने मेसिन समेत खरिद गरिदिएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए । चिया बगानबाट चियाको मुना टिपेर ल्याएपछि नरम कपडाले छोपेर घाममा सुकाइन्छ र ओइलिएपछि ढिकीमा कुटेर हावा नछिर्ने गरी प्लाष्टिकमा राखेपछि २४ घन्टामा बास्नादार भुजुङको स्पेशल चिया तयार हुने स्थानयीको भनाई छ ।घुम्नका लागि भुजुङ सम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लमजुङको चियालाई स्थानीय कोसेलीका रुपमा लिएर फर्कने गरेका छन् । कतिसम्म भने हिजो आज सदरमुकाम बेसीशहरमा किनमेल गर्न आउने ग्राहकहरुले समेत भुजुङको चिया सोध्ने गगरेका छन् ।