
सिरियामा रुसको हवाई आक्रमणका कारण दुई सय भन्दा धेरै नागरिकको ज्यान गएको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो समय इस्लामिक स्टेट आइएस विरुद्ध भन्दै रुसले सिरियामा गरेको हवाई आक्रमणको क्रममा कम्तिमा दुई सय सर्वसाधारण नागरिक मारिएको उल्लेख छ ।
एम्नेष्टीले प्रत्यक्षदर्शी र अधिकारवादीलाई उद्धृद गर्दै सिरियाको हवाई आक्रमणको निशाना सर्वसाधारण नागरिक बनेको भन्दै चिन्ता व्यक्त गरेको छ । रुसले गएको सेप्टेम्बर ३० देखि नोभेम्बर २९ सम्मको एक महिनाको अवधिमा सिरियाका विभिन्न पाँच क्षेत्रमा २५ भन्दा धेरै आक्रमण गरेको एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले रुसले अन्तर्रा्ष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन गरेको देखिएको एम्नेष्टीले जनाएको छ । रुसले भने आफ्नो हवाई आक्रमणका कारण सर्वसाधारण नागरिक मारिएको कुरा अस्वीकार गर्दै आएको छ । रुसले सिरियाको होम्स, हामा, इदलिब, लातकिए र एलेप्पो शहरमा गरेको आक्रमणमा बढी सर्वसाधारण नागरिक मारिएको एम्नेष्टीले जनाएको छ । एम्नेष्टीले प्रतिवेदन सार्वजनिक गरेपछि रुसका सरकारी अधिकारीले प्रतिक्रिया दिएका छैनन् । तर गएको अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुले हवाई कारवाही सुरु गरेपछि सर्वसाधारण नागरिक नमारिएको दाबी गर्नु भएको थियो । सिरियामा अमेरिका नेतृत्वको गठबन्धन सेनाले पनि हवाई आक्रमण गर्दै आएको छ ।