९ पुष २०७२, बिहीबार

कावासोती । सरकारले उपस्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य चौकी निर्माण गरेपछि खुसी भएका धौवादीका महिलाले स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर ९बच्चा जन्माउने केन्द्र० स्थापना गर्न माग गरेका छन् । गर्भवती महिलाका लागि स्वास्थ्य सेवा लिन कावासोती र चितवनको भरतपुर पुग्नुपर्ने भएकाले महिलाले गाउँमै बर्थिङ सेन्टर स्थापनाको माग गरेको धौवादी– २ की देउमती सारुले बताउनुभयो । कलिलो उमेरमा आमा हुनेको सङ्ख्या धौवादीमा बढी छ । बालविवाहको अवस्थाले कलिला आमाहरुको सङ्ख्या यहाँ बढेको हो । ‘मेरो अधिकार मेरो आवाज’ कार्यक्रममार्फत बालविवाहमा न्यूनीकरण भएको छ, अब गाउँमै सुत्केरी हुने अवस्थामा परिवर्तन आएका बेला स्वास्थ्य संस्था नै चाहियो – धौवादीकी उमति रानाले भन्नुभयो – “स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउनुपर्छ भन्ने ज्ञान भयो तर नजिकका स्वास्थ्य संस्थामा सुविधा छैन । कावासोती र चितवन पुग्न पनि यहाँका महिलालाई सहज छैन । केरुङे खोलाका कारण बाटोको समस्या छ । त्यस्तै विपन्नका लागि भनेका बेला पैसासमेत नहुने यहाँको महिलाको समस्या छ । अझ गाउँमा भएका युवा खाडी मुलुकमा भएकाले बाहिर जान समस्या छ त्यस्तो ठाउँमा एउटा बर्थिङ सेन्टर आवश्यक छ । जिल्ला स्वास्थ्य कार्यालय, नवलपरासीका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले दरबन्दीको अभावमा माग भए बमोजिमको बर्थिङ सेन्टर सञ्चालनमा कठिन भएको बताउनुभयो । हाल जिल्ला अस्पतालसहित २८ ठाउँमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । गाविस र स्वास्थ्य चौकीबाट आएको मागका आधारमा जिल्लामा छलफल गरी बर्थिङ सेन्टरको काम अगाडि बढाउँछौँ – उहाँले भन्नुभयो । रासस

 

LIVE TV