
साढे चार महिनादेखि जारी मधेस आन्दोलनलाई थप कडा बनाउने उद्घोषका साथ संघीय समावेशी मधेसी गठबन्धनले जनकपुरमा लाठी जुलुस प्रर्दशन गरेको छ । वाँसको भाटासहित प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले शिक्षण संस्था, यातायात, कलकारखाना, बजार बन्द गराएका छन् । संयुक्त लोकतान्त्रिक मोर्चाले विहानको समयमा शिक्षण संस्था संचालन गर्न दिने गर्ने निर्णय विपरित मधेसी गठबन्धनले शिक्षण संस्था पूर्ण रुपमा अनिश्चितकालका लागि बन्द गराउंदै लाठी जुलुस प्रर्दशन गरेको हो । जनकपुरको मिल्स एरियाबाट निस्केको लाठी जुलुस भानु चोक, शिव चोक, जनक चोक, रामानन्द चोक हुंदै नगरको बिभिन्न परिक्रमा गरेको थियो । उनीहरुले जनकपुरको रमानन्दचोक स्थित खानेपानी संस्थान, स्टेशन रोड स्थित भन्सार कार्यालय, कृषिविकास बैंक, मालपोत, कृषि सामग्री संस्थान, वन कार्यालय, नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायका सरकारी कार्यालयहरु समेत बन्द गराएका छन् । गठबन्धनको आन्दोलनले बल्ल खुलेको शिक्षण संस्था पुनः अनिश्चितकालका लागि बन्द हुंदा विद्यार्थीहरु मारमा परेका छन् । एसएलसी परीक्षा नजिकिदैं जाँदा शिक्षण संस्थाहरु ठप्प हुंदा विद्यार्थीहरु अन्योलमा परेका छन् । यद्दपी सम्बन्धित पक्ष शिक्षण संस्था संचालन तर्फ मौन देखिएको छ ।