८ पुष २०७२, बुधबार

फिदिम । धान नाच्ने निहँु गरेर हात समाई जवरजस्ती घरमा लगेर युवतीलाई सिन्दुर हाल्ने पाँचथर फाक्तेप–७ का एक युवकमाथि प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ ।

युवतीको मञ्जुरी बिना विवाह गरौँ भन्दै त्यसरी सिन्दुर हाल्ने २२ वर्षीय भगेन्द्र चेम्जोङलाई प्रहरीले मुद्दा लगाएको हो ।

प्रहरीले भगेन्द्रसहित जवरजस्ती गर्न सहयोग गर्ने अन्य तीन जनाविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

एक साता अघि दाजु मचिन्द्र तुम्बापो र भाउजु चन्द्रमाया चेम्जोङ तुम्बापोसँग आफ्नो छिमेकमा पाहुना आएकी युवतीलाई भगेन्द्रले सिन्दुर लगाएका हुन् ।

युवतीका दाजु मचिन्द्र र भाउजु चन्द्रमाया समेतलाई प्रहरीले मुद्दा लगाएको हो । फिदिम नगरपालिका चोगमागुकी पीडित युवती भागेर प्रहरीमा उजुरी दिनुभएको थियो ।

भर्खर विदेशबाट आएका भगेन्द्रले दिदी चन्द्रमाया र भेना मचिन्द्रसँग कुरा मिलाएर युवतीलाई सिन्दुर लगाएको हुनसक्ने प्रहरी नायव निरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

युवतीले जायरी गरेपछि युवकलाई प्रहरीले झिकाउन खोजेपनि आरोपित भागेका छन् ।

प्रहरीले उनको खोजी गरिरहेको बताएको छ ।

जवरजस्ती सिन्दुर लगाउने युवकले पीडित युवती भागेपछि अर्की केटी विवाह गरेको बताइएको छ ।

 

LIVE TV