७ पुष २०७२, मंगलवार

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारद्धारा प्रस्तुत तीन बुंदे प्रस्ताव अस्विकार गरेको छ । मधेसमा जारी आन्दोलन नरोकिने पनि मोर्चाले स्पष्ट पारेको छ । मोर्चाको आज साँझ बसेको बैठकले सरकारद्धारा प्रस्तुत तीन बुदें प्रस्ताव अपूर्ण र समस्या समाधान केन्द्रीत नभएको स्पष्ट गरेको छ । सरकारले सहमतिवाट भन्दा पनि एकल रुपमा जान खोजेको मोर्चाको आरोप छ । प्रमुख तीन दलले सहमति गरेपछि सरकारले मन्त्रिपरिषद्वाट तीन बुंदे प्रस्ताव पारित गरेको थियो । जसलाई सरकारले औपचारिकरुपमै मोर्चालाई हस्तान्तरण गरेको थियो ।
तीन बुंदे प्रस्तावमा सीमाङ्घनको विषय तीन महिनाभित्र राजनीतिक संयन्त्र बनाएर हल गर्ने, समावेशी समानुपातिक व्यवस्था गर्ने र निर्वाचन क्षेत्र निर्धारणको विषयलाई सहमतिमा समाधान गर्ने उल्लेख थियो । सरकारको तीन बुँदे प्रस्तावप्रति भारतले समस्या समाधानतर्फ नेपाल सरकार अग्रसर रहेको भन्दै स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV