
ग्याँस नदिएको भन्दै काठमाडौंको चल्नाखेलमा रहेको एभरेष्ट ग्यास उद्योगमा स्थानीयबासीले तोडफोड गरेका छन् । महिनौदेखि ग्याँस लिन लाइनमा राखेपनि नपाएको भन्दै उनीहरुले उद्योगमा तोडफोड गरेका हुन् । उद्योगले मंगलबार ग्यास बिक्री गर्ने भनेर बोलाएपछि झण्डै तीन हजार उपभोक्ता उद्योगमा पुगेका थिए । तर उद्योगले ग्यास नदिने बताएपछि आक्रोशित उपभोक्ताले ढुंगामुढा गर्दा उद्योगमा केही क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयबासीलाई रोक्ने क्रममा २ जना डिएसपीसहित १० जना प्रहरी घाइते भएका छन् । डिएसपी रेवती ढकाल र टिकाबहादुर केसी सहितका प्रहरी घाइते भएको एसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । ढुंगामुढाका क्रममा हराएको प्रहरीको एउटा हतियार र सञ्चार सेट स्थिती सामान्य भएपछि भेटिएको छ । एभरेष्ट ग्यास नेपाल ग्यास उद्योग व्यवसायी संघका अध्यक्ष शिवप्रसाद घिमिरेको कम्पनी हो । ग्यास उद्योग र स्थानीयबीच सहमति नहुदाँ घटना हुन पुगेको हो । स्थानीयले ग्यास वितरणमा आफूहरुलाई प्राथमिकता दिनुपर्ने माग गर्दै आएका छन् ।