७ पुष २०७२, मंगलवार

पूर्वी पहाडी जिल्लाबाट धरानमा दैनिक सरदर सवा करोड बराबारको सुन्तला निर्यात भइरहेको छ । धरान स्थित कृषि उपज बजार स्थलबाट पूर्वका अधिकांश जिल्ला सहित भारतमा पनि सुन्तला निर्यात गरिन्छ । धनकुटा जिल्लाको सुन्तला एशियामै उत्कृष्ट मानिन्छ तर अन्तराष्ट्रिय स्तरको ग्रेडिङ र प्याकेज प्रणाली नहुँदा सुन्तलाको बजारलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन नसकिएकोप्रति कृषकहरुको गुनासो छ ।
पूर्वी पहाडि जिल्ला मध्ये सुन्तलाको राजधानी भनेर भोजपुर र धनकुटालाई मानिन्छ । धनकुटाको छिन्ताङको सुन्तला त झन एशियाकै उत्कृष्ट मानिएको छ । धरानको कृषि उपज बजार स्थल हुँदै धनकुटा, भोजपुरका सुन्तला पूर्वका विभिन्न शहरहरुमा पुग्ने गरेका छन् । सुन्तलालाई ५ वटा साईजमा वर्गीकरण गरिएको छ । सबै भन्दा सानो सुन्तालाको दानालाई जुस बनाउन प्रयोग गरिन्छ भने त्यस भन्दा माथिका सुन्तला उपभोक्ताका लागि बजारमा लगिन्छ । साईज अनुसारका सुन्तलाको मुल्य पनि फरक नै हुन्छन् । सुन्तलालाई कृषकहरुले नै ग्रेडिङ गरि बजारमा ल्याउने हो भने कृषकहरुलाई बढी फाईदा हुने कृषि उपज बजार स्थल धरानका अध्यक्ष काजी गिरीको भनाई छ । कृषि उपज बजार स्थलमा आएका सुन्तलाहरुको ग्रेडिङ हातैले गर्ने गरिएको छ । हातले छानेको भरमा ग्रेडिङ अनुसारको मूल्य निर्धारण गर्ने गरिन्छ । अन्तराष्ट्रिय क्षेत्रमा आधुनिक ग्रेडिङ मेसिन प्रयोगमा आए पनि नेपालमा भने अझै भित्रन सकेको छैन् । हातैले ग्रेडिङ गर्दा समय र जनशक्ति बढी खर्च हुने कृषकहरुको भनाइ छ । यसैका लागि स्थलमा रहेका थोक बिक्रेताहरुले छुट्टै मजदुर राख्नुपरेको छ । जसले गर्दा सुन्तालाको मुल्य पनि बढ्ने गर्छ । ग्रेडिङ गरि सुन्तला बजारमा पु¥याउँदा व्यापार गर्न सजिलो र बढी मूल्य पाईने व्यापारी ज्ञानबहादुर बस्नेतले बताउनुभयो । अघिल्लो वर्ष कृषि उपज बजार स्थल अध्ययनका लागि आउनुभएका तत्कालीन कृषि मन्त्री हरिप्रसाद पराजुलीले व्यापारीहरुले हातैले सुन्तला छानिरहेको देखेपछि ग्रडिङ गर्ने उपकरण उपलब्ध गराउन सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको थियो । उहाँले प्रस्तावना पत्र लिएर आए आधुनिक उपकरण उपलब्ध समेत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर प्रस्तावना पत्र बुझाए पनि कुनै पहल हुन नसेको बजार स्थल सञ्चालक समितिको भनाइ छ । त्यसैले अहिले सम्म हातैले ग्रेडिङ गर्नु परेको कृषि उपज बजार स्थलका व्यवस्थापक प्रमुख लक्ष्मण भट्टराईले बताउँनुभयो । हातैले ग्रेडिङ गर्दा भएको खर्च पनि उपभोक्ताहरुबाटै असुल गर्ने हुनाले उपभोक्ताहरु समेत मारमा पर्ने गरेका छन् । त्यसैले पूर्वका सुन्तला कृषकहरु अन्तराष्ट्रिय स्तरको ग्रेडिङ उपकरणको तीव्र प्रतीक्षामा रहेका छन् । तर उनीहरुको त्यो प्रतीक्षाको अन्त्य कहिले हुन्छ,यसबाट भने कृषकहरु नै अनविज्ञ छन् ।

LIVE TV