
निरन्तर साढे चार महिनादेखिको बन्द हड्ताल र नाकाबन्दीका कारण जनकपुर सहित मध्य तराईको धार्मिक पर्यटन क्षेत्र धाराशयी हुंदै गएको छ । प्रादेशिक सीमाकंनको विवादलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित मधेस केन्द्रीत दलहरुले आह्वान गरेको आमहड्ताल र नाकाबन्दीको कारण यस क्षेत्रको पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको छ । गत वैशाखमा गएको विनाशकारी भूकम्पको त्रासले लथालिंग बनेको पर्यटन क्षेत्र मधेस केन्द्रीत राजनीतिक दलको आमहड्तालका कारण पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको हो । धार्मिक पर्यटकले भरिभराउ रहने जानकी सीता माताको जन्मभूमि र रामजानकीको वैवाहिक स्थल जनकपुर यो वर्ष सुरु देखिनै झण्डै झण्डै सुनसान छ । गत वर्षको पुस महिनामा दैनिक लगभग २० हजार धार्मिक पर्यटक आउने जनकपुर यो वर्ष बन्द हड्ताल र नाकाबन्दीले सुनसान बनेको पर्यटन कार्यालय, जनकपुरका प्रमुख सत्यनारायण साहले बताउँनुभयो ।
साढे चार महिनादेखि जारी आमहड्ताल र नाकाबन्दीका कारण जनकपुरमा पर्यटकको आगमन प्रायः शुन्य छ । महोत्तरीको भिठामोड नाका, धनुषाको जटही नाका, जयनगर नाका हुंदै नेपाल भित्रिने पर्यटकहरु मधेस आन्दोलनका कारण आउन सकेको छैनन् । जसको कारणले जनकपुरको पर्यटन व्यवसाय प्रत्यक्ष प्रभावित बनेको होटल व्यवसायी संघ धनुषाका सचिव धमेन्द्र साहले बताउँनुभयो ।
जनकपुर बजार क्षेत्रमा मात्र ठूलासाना गरी झण्डै ३ सय होटल सञ्चालनमा छन् । ती होटलहरुमा झण्डै साढे २ अर्व रुपैयाँ भन्दा बढी लगानी गरिएको छ । तर पर्यटकको आगमन नहुंदा जनकपुरका होटलहरु पछिल्लो साढे चार महिनादेखि ठप्प छन् । पर्यटककै लागि भनिएर खोलिएका ठूलठूला होटलहरु पर्यटक नुहंदा बन्द हुने अवस्थमा पुगेका छन् । पर्यटन क्षेत्रबाट मात्र जनकपुरमा दैनिक ५० लाख घाटा भैरहेको सचिव साहले बताउँनुभयो । बाइट
अहिले जनकपुरमा भारतीय, श्रीलंकाली, वंगलादेशी पर्यटक आउने मौसम हो । तर मधेस आन्दोलनका कारण उनीहरु यहाँ आउन सकेकाछैनन् । बन्द हड्ताल र नाकाबन्दी नहटेसम्म जनकपुर सहित मुलुकको अन्य क्षेत्रको पर्यटन व्यवसाय समेत कमजोर नै रहने पर्यटन व्यवसायीहरुको भनाई छ । तराई मधेस आन्दोलनका कारण जनकपुरले मात्रै साढे चार महिनामा लगभग ६० करोड भन्दा बढि नोक्सानी वेहोर्नु परेको सचिव साहले बताउँनुभयो ।