
गृहमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको नयाँ संविधान विश्वका लोकतान्त्रिक मुलुकहरुको संविधान भन्दा उत्कृष्ट रहेको दाबी गर्नुभएको छ । मध्य तथा सुदुरपश्चिमाञ्चलका स्थानिय प्रशासकहरुको क्षेत्रिय गोष्ठी उद्घाटन गर्दै उहाँले विश्वका लोकतान्त्रिक संविधानको अघिल्लो सूचिमा नेपालको संविधान भएको दाबी गर्नुभएको हो ।
उहाँले अहिलेको नयाँ संविधानले सबै जात जाति क्षेत्र र समुदायलाई समेट्नुका साथै समावेशी र समानुपातिक संविधान रहेको बताउँनुभयो । नयाँ संविधानमा सबैको हक अधिकार समेटिएको उहाँको दाबी थियो । कुनै पनि संविधान आफैमा पूर्ण नहुने भएकाले संविधानमा थप्नुपर्ने,संसोधन गर्नुपर्ने कुराहरुलाई संविधान संसोधन मार्फत अगाडि बढाउन सकिने गृहमन्त्री बस्नेतले बताउँनुभयो । संविधानमा असन्तुष्ट भएका सिमाङ्गक लगायतका विषयमा राजनीतिक संवाद,अन्तरक्रिया र छलफलका माध्यमबाट समाधान गर्न सकिने भन्दै उहाँले त्यसका लागि राजनीतिक संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्नुभयो । अहिले मधेसमा जारी समस्या समाधान अबको ३ महिना भित्र निष्कर्षमा पुग्ने उहाँको कथन थियो । मन्त्री बस्नेतले अहिले मुलुक विकासको एउटा चरण पार गरी अर्को नयाँ युगमा प्रवेश गरेको जिकिर गर्नुभयो । बुधवारसम्म चल्ने मध्य तथा सुदुरपश्चिमाञ्चलका स्थानिय प्रशासकहरुको क्षेत्रिय गोष्ठीमा समग्र देशको सुरक्षाको अवस्थाका बारेमा छलफल हुनेछ ।