
धनगढी । तालतलैयाहरुको उपयोग कसले गर्न पाउने भन्ने विषयमा लामो समयदेखिको विवादपछि कैलाली जिल्लाको भजनी–त्रिशक्ति नगरपालिका कार्यालयको आम्दानी स्रोतको बाटो रोकिएको छ । आफ्नो क्षेत्रभित्र तालतलैया परेको भन्दै स्थानीय सामुदायिक वन उपभोक्ता समितिले त्यहाँ रहेका प्राकृतिक ताल उपयोग गर्न नदिएपछि नगरपालिका कार्यालयको आम्दानीको बाटो रोकिएको हो । भजनी–त्रिशक्ति नगरपालिकाको साविक खैलाड गाविसमा रहेका १८ वटा प्राकृतिक ताललाई बर्सेनि ठेक्कामा दिई आयआर्जन हुने गरेकामा आव ०७१÷७२ बाट यी ताल ठेक्कामा दिन रोकिएको नगरपालिका कार्यालय राजस्व फाँटका पूर्ण जोशीले बताउनुभयो । ठेक्का पाउने व्यक्ति÷समूहले यसअघि यी ताल ठेक्कामा लिई गर्ने माछापालन व्यवसायबाट वार्षिक करोडभन्दा बढी आयआर्जन गर्दै आएका थिए ।
नगरपालिकालाई रुपान्तरण गर्न यी तालबाट हुने आम्दानी नै प्रमुख आय स्रोत भए पनि विवाद देखिएपछि आम्दानी हुन नसकेको जोशीले बताउनुभयो । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेका कारण पनि तालको न्यायोचित रुपमा उपयोग गर्न कठिनाइ भइरहेको बताइएको छ । सो क्षेत्रका प्राकृतिक तालमध्ये क्षेत्रफलमा सबैभन्दा ठूलो लौकाभौका ताल रहेको छ । यसबाहेक कोलकटला, सोनिया, रुपिँया, घोरताल र नुक्ली ताल पनि ठूला तालमा पर्ने गरेका छन् । कैलाली जिल्लाको एउटै नगर क्षेत्रमा १८ प्राकृतिक ताल रहेको भए पनि यी साधन स्रोतको उपयोग कसले गर्ने भन्ने विषयमा देखिएको विवादपछि तालबाट सोचेजति आयआर्जन गर्न नसकिएको स्थानीयवासी बताउँछन् ।
यद्यपि स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरुले यी कतिपय तालमा माछापालन गरेर आम्दानी गरिरहेको बताइएको छ । सरकारले एक वर्षअघि साविक भजनी, लालबोझी र खैलाड गाविसलाई समेटेर भजनी–त्रिशक्ति नगरपालिका घोषणा गरेको थियो । रासस