
विश्व बजारमा कच्चा तेलको मूल्य ११ वर्ष यताकै सबैभन्दा कम भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ दशमलव ०५ डलर पुगेको छ । जुन सन् २००४ पछि कै सबैभन्दा कम हो ।
सन् २००४ को जुलाईमा पनि तेलको मूल्य यही स्तरमा झरेको थियो । कच्चा तेलको मूल्य केही बेर ३६ दशमलव ०५ डलर प्रतिब्यारेलमा कायम रहेर सुधार हुँदै ३६ दशमलव ५६ डलर प्रतिब्यारेलमा पुगेको छ । विश्वभर तेलको उत्पादन बढी भएका कारण मूल्य घटेको विश्लेशकले बताएका छन् । एक वर्ष पहिलेसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर थियो । सन् २०१४ को जुनमा तेलको मूल्य एक सय १५ डलर पुगेको थियो । अमेरिका तथा रुसको कच्चा तेलमा बजारमा लगातार पहुँच रहेकाले तेलको मूल्यमा तत्काल सुधार आउने सम्भावना नरहेको विशेषज्ञले बताएका छन् । सन् २०१६ मा इरानमाथिको प्रतिबन्ध हटेपछि उसले पनि तेल उत्पादन सुरु गर्ने भएकाले तेलको मूल्य अझै घट्ने सम्भावना छ । कच्चा तेल उत्पादन गर्ने देशको समुह ओपेकका १२ सदस्य राष्ट्रले गएको नोभेम्बरमा कच्चा तेलको उत्पादन प्रतिदिन तीन करोड ब्यारेल भन्दा नगर्ने निर्णय गरेको थियो ।