
कक्षा दसमा ७५ प्रतिशत हाजिर भएका विद्यार्थी स्वतः एसएलसी परीक्षामा सहभागी हुन पाउने शिक्षा नियमावलीको व्यवस्थाविपरित निजी विद्यालय सञ्चालकले सेन्डअप टेस्टको परीक्षा सञ्चालनको तयारी गरेका छन् ।
निजी विद्यालय सञ्चालकको एउटा छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल -एनप्याब्सन)ले कानुनलाई चुनौति दिँदै आगामी माघ १४ गतेदेखि २२ गतेसम्म परीक्षा सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । एनप्याब्सनले उक्त परीक्षालाई एसएलसी पि्रबोर्ड नाम दिएको छ ।
केन्द्रीय समितिको निर्णय भन्दै उक्त संगठनले निर्देशन पालना गर्न मातहतका विद्यालयलाई निर्देशन दिएको छ । परीक्षाको नाममा विद्यार्थीबाट रकममात्र असुल्ने गरेको आरोपको आधारमा शिक्षा मन्त्रालयले दुई बर्षअघि शिक्षा नियमावली संशोधन गरेर ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई एसएलसी परीक्षामा सहभागी हुन दिने व्यवस्था गरेको थियो ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले शिक्षा मन्त्रालयले एसएलसी परीषाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्बजनिक गर्ने निर्णय गरेपछि विद्यार्थीमा पढाइमा अरुचि देखिन थालेकाले परीक्षा लिन लागिएको दाबी गरे ।
‘लेटर ग्रेडिङ अव्यावहारिक’
यसैबीच यस बर्षदेखि एसएलसी परीक्षाको नतिजालाई लेटर ग्रेडिङ प्रणालीमा सार्बजनिक गर्ने गरी शिक्षा मन्त्रालयले गरेको निर्णय वैज्ञानिक र व्यवहारिक नरहेको निजी विद्यालय सञ्चालकले दाबी गरेका छन् ।