६ पुष २०७२, सोमबार

भनिन्छ कलाले निखारिएको हात काँचो माटोमा पर्यो भने त्यसबाट जस्तो स्वरुप निकाल्न चाह्यो,त्यस्तै बन्छ । विद्यालयमा अध्ययनका लागि पुगेका कलिला विद्यार्थीहरुले पनि गुरुले जस्तो सिकाउँछन् त्यही सिक्छन् । यसैको उदाहरण बनेको छ,लमजुङको तार्कुघाटस्थित बिरभक्ति उच्च माविमा अध्ययनरत विद्यार्थीहरु । जहाँका विद्यार्थीहरुले कक्षामा पढाएका विज्ञान र प्रविधिका ज्ञानबाट विभिन्न उपकरणहरु निर्माण गरी प्रदर्शनी समेत गरेका छन् । लमजुङको तार्कुघाटस्थित बिरभक्ति उच्च माविमा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले आफूले तयार पारेको प्रविधिहरुलाई विज्ञान प्रर्दशनीमा प्रदर्शन गरेका छन् । उनीहरुले विद्यालयको बार्षिकोत्सवको अवसर पारी शिक्षकले सिकाए अनुसारका सामाग्रीहरुको निर्माण गरी प्रदर्शनीमा राखेका हुन् । आफ्ना छोराछोरी र भाइ बहिनीहरुले पास्कलको नियम अनुसार कलिला हातहरुद्धारा निर्माण गरिएको हाइड्रोलिक ज्याक, हाइड्रोलिक क्रेन, मोटर गाडी, यक्साभेटर, पानी ढिकी, केवलकार लगायतका सामाग्रीहरु प्रर्दशनीमा देखेपछि अभिभावकहरु समेत अचम्मित परेका छन् । विगत ३ बर्षदेखि विज्ञानसम्बन्धी ज्ञान भएका र पढेको आधारमा साना विद्यार्थी भाइबहिनीहरुले यस्ता सामाग्रीहरु तयार पार्ने गरेको विद्यालयका विज्ञान शिक्षकको भनाई छ ।

जिल्लामै सबैभन्दा उत्कृष्ट विद्यालयको रुपमा स्थापित बिरभक्ती उमाविले अध्ययनरत विद्यार्थीहरुको क्षमता अनुसार पास्कलको नियम प्रयोग गरी प्रविधियुक्त उपकरणहरु बनाउन सफल भएको शिक्षकको भनाई छ । कक्षा शिक्षणको समयमा आएका कुराहरुलाई ब्यवहारमा उतार्नको लागि विद्यार्थीहरुले उपकरणहरुको निर्माण गर्नको लागि आफैं सामाग्रीहरु जुटाउने गर्दछन् । आफ्नै गाउँघरहरुमा पाइने सामानको प्रयोग गरि सानासाना विद्यार्थीहरुले बैज्ञानिक उपकरणहरुको निर्माण गरेका हुन् । विद्यार्थीहरुले गुरुहरुको सहयोगमा हाइड्रोलिक क्रेन, डोजर, आलुबाट विजुली निकाल्ने उपकरण तयार पारेको बताए ।
आफ्नो विद्यालयमा पठनपाठनका साथै विद्यार्थीहरुको क्षमता अनुसार विज्ञान प्रविधिमा पनि सहभागि गराइने प्रधानाध्यापक श्यामचरण कुर्मीले बताउँनुभयो । पछिल्लो समय यस विद्यालयको अनुसरण जिल्लास्थित अन्य निजी तथा सरकारी विद्यालयहरुले पनि गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV